दमक/ महाशिवरात्रीका दिन स्थापना भएको झापाको दमक–८ स्थित पशुपति कीर्तन मण्डलीले संस्थाको १४ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । महाशिवरात्रीका दिन मंगलबार राती स्थानीय मित्रता व्याडमिन्टन हलमा आयोजना गरिएको सो कार्यक्रममा स्थानीय धार्मिक व्यक्तित्व ८० वर्षीय धनपति पराजुलीलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरियो भने सोही वडाको जनता आधारभूत विद्यालयका विपन्न तथा जेहेन्दार १ छात्र र १ छात्रालाई संस्थाको शुभजन्मोत्सव कोषबाट व्याग, कापी र डटपेन सहयोग स्वरुप उपलब्ध गराइयो ।
स्थानीय धार्मिक व्यक्तित्व विष्णुमाया रेग्मीको प्रमुख आतिथ्यता तथा सो कीर्तन मण्डलीकी अध्यक्ष डोयना दाहालको अध्यक्षतामा भएको कार्यक्रममा जनता आधारभूत विद्यालयका प्रधानाध्यापक केदार सुवेदी, सरस्वती सामाजिक हरिकीर्तन मण्डलीका सचिव युवराज सिटौला, सामाजिक व्यक्तित्वहरु टंक पाठक र लोकनाथ पोखरेलले शुभकामना मन्तव्य राखेका थिए । कोषाध्यक्ष होमा खनालले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन कीर्तन मण्डलीका सचिव देव प्रसाद सुवेदीले गरेको जानकारी गराइएको छ । सो संस्थाले आफ्नो अक्षयकोषमा १३ लाख रुपैयाँ जम्मा गरिसकेको छ । वार्षिकोत्सव कार्यक्रमको समापन भने भजन कीर्तन र आरती गरेर गरिएको अध्यक्ष दाहालले जानकारी गराइन् ।