समाचार

मोती जयन्तीमा पुस्तक लोकार्पण

दमक/ युवाकवि स्वर्गीय मोतीराम भट्टको १५४ औं जन्म जयन्तीका अवसरमा साहित्य कला सङ्गमले कवि गोपाल प्रसाद दाहालद्वारा लिखित छन्द कविता संग्रह ‘सिर्जनाका फूलहरु’ लोकार्पण गरिएको छ ।
पुस्तकको समीक्षा साहित्य कला सङ्गमका उपाध्यक्ष विष्णुप्रसाद न्यौपानेले गरेका थिए । मोती जयन्तीका अवसरमा मोतीराम भट्टप्रति समर्पित गजलकार हरि पराजुली, प्रवीण पाठकले गजल वाचन गरेका थिए । त्यस्तै कविहरु बीरेन्द्र खड्का र बिर्तामोडका कवि डिल्लीराम परदेशीले आ–आफ्ना कविता वाचन गरे ।
वरिष्ठ साहित्यकार खेमलाल पोखरेलले शुभकामना मन्तव्य सहित ‘साइनो’ अभियानको काव्यिक रचना ‘एक साइनो’ सुनाए । दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमको अध्यक्षता साहित्य कला सङ्गमका अध्यक्ष नरपति पाण्डेले
गरेका थिए । कार्यक्रम साहित्य कला सङ्गमका सचिव श्री दिपक सुवेदीले संचालन गरेका थिए । कार्यक्रम स्वास्थ्य मापदण्डको मापदण्ड अपनाएर आयोजना गरिएको र ३५ जना साहित्यकर्मी लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।

Author

You may also like