समाचार

ठूला आयोजनाको अवस्था

दमक/ कोरोनाको महामारी रोक्न झापा जिल्लामा निषेधाज्ञा जारी गरिएपनि गौरवका आयोजनाहरुका कामहरु भने भइरहेको पाइएको छ । तर सबै निर्माणकर्मी तथा मजदुरहरु खट्न नसक्दा कामहरु भनेजति तिब्र गतिमा गर्न नसकिएको सम्बन्धित सरकारी तथा स्थानीय तहका जिम्मेवार व्यक्तिहरुले बताएका छन् । उता झापाको काँकडभिट्टादेखि सुनसरीको इनरुवासम्म बनाइने भनेको पूर्वपश्चिम रेलमार्गको मुआब्जा दिनमा सम्बन्धित मन्त्रालयमा मन्त्रीको नियुक्ति नभएकाले ढिलाई भइरहेको पनि बताइको छ । तर दमक–१० लगायतका स्थानमा बनिने भनेको नेपाल चाइना औद्योधिक पार्कको निर्माणका लागि प्रारम्भिक कामहरु भइरहेको छ ।
भ्यु टावरको काम जारी
झापाको दमक–३ मा निर्माणाधीन २५ तले भ्यू टावर निर्माणको काम धमाधम भइरहेको वडाध्यक्ष नविन बरालले जानकारी गराए । १८ तला पक्की र ७ तला स्टिलको बन्ने सो भ्यू टावरको हालसम्म ५ तला निर्माण भइसकेको र बाँकी तला थप्ने काम भइरहेको उनले बताए । स्थानीयवासीले निःशुल्क दिएको ५ विगाहा जग्गामा बन्न लागेको सो भ्यू टावर १ अर्व ५५ करोडको लागतमा बन्न लागेको सो टावरको काममा कोरोनाको महामारीले खासै असर नगरेको उनको भनाई छ । यो टावर अबको डेढ वर्षभित्रमा बनाइसक्ने योजना रहेको पनि वडाध्यक्ष बरालले प्रष्ट पारे । सोही वडामा बन्ने भनी घोषणाा गरिएको मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालाको काम भने अहिले शुरु नभएको उनले बताए । रंगशालाका लागि सरकारको माथिल्लो निकायबाट कुनै जानकारी नआएको पनि उनले बताए ।
निर्माणको काम रोकिँदैन
यता दमक–५ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङले नगरका गौरवका आयोजनाहरुमा कोरोनाको महामारीको खासै ठूलो असर नपरेको दावी गरेका छन् । उनले दमकको रिङ रोडको काम ठेक्का लागिसकेको र काम पनि शुरु भइसकेको बताए । त्यस्तै दमक सभाहल, बुद्धचौक–हिमावि–ढुकुरपानी सडकको काम भइरहेको पनि उनले प्रकाश पारे । केन्द्र, प्रदेश र स्थानीय पालिकाहरुका गौरवका आयोजनाका कामहरु केही मजदूरहरु कारणवश नआएपनि चालू अवस्थामा रहेको उनले बताए ।
औद्योगिक पार्क बन्छ
दमक–१० लगायतका रतुवा खोलाको किनारमा बन्ने भनिएको नेपाल चीन मैत्री औद्योगिक पार्कको निर्माणका लागि जमिनको सतहको लेवलिङ गर्ने काम चिनिया कामदारहरुबाट भइरहेको सो पार्कका अध्यक्ष गोविन्द थापाले जानकारी गराए । जम्मा २८ जना चिनियाहरु आएकोमा केही काठमाडौंमै रहेको र बाँकीले यहाँ फिल्डमा काम गरिरहेको उनले बताए । कोरोनाले केही असर त गरेको छ नै, तर सामान्य र आधारभूत रुपमा हुने कामहरु भने नरोकिने उनको भनाई छ । पार्कका लागि ७४२ विगाहा जग्गाको मुआव्जा दिनुपर्नेमा ४८५ विगाहा जग्गाको लागि १ अर्वभन्दा माथि मुआव्जा दिइसकेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड दमकका व्यवस्थापक संजय थापाले जानकारी गराए । जग्गाको लगतसहित आवश्यक कागजात लिएर आउने जग्गाधनीलाई मुआब्जा दिने काम अहिले पनि धमाधम भइरहेको उनले बताए ।
दमक रवि सडक बन्दै
त्यसैगरी पूर्वी जिल्लाहरु झापा, मोरङ, इलाम र पाँचथरका लागि महत्वपूर्ण मानिएको दमक चिसोपानी रवि सडकको काम त दू्रत गतिमा भइरहेको दमक रवि चिसोपानी सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष गगन पुरीले जानकारी गराए । उनले आगामी वर्षभित्र सबै काम पूरा भइ सो सडक कालोपत्रे गरिसक्ने गरी काम भइरहको बताए  । हालसम्म सो सडकमा पर्ने ५ वटा पुल र १३ वटा कल्भर्ट निर्माणको काम सकिएको र हाल ड्रेनको काम भइरहेको पनि उनले प्रष्ट पारे । आगामी असोजभित्रमा सव वेस (ग्रावेल) को काम हुने पनि उनले बताए । ३५ किलोमिटर लामो सो सडक करिव डेढ अर्वको लागतमा बनिरहेको र राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने उनले बताए । यो आयोजना सरकारबाट प्राथमिकता नम्वर १ मा परेको र बहुवर्षीय योजना अन्तर्गत स्वीकृत गराएको पनि अध्यक्ष पुरीले प्रष्ट पारे  ।
रेल्वेको मुआब्जा रोकियो
यसैगरी झापाको काँकडभिट्टादेखि मोरङ हुँदै सुनसरीेको इनरुवा जोड्ने पूर्वपश्चिम रेल्वे प्रभावितहरुलाई मुआब्जा दिने काम भौतिक योजना तथा निर्माण मन्त्रालयमा नयाँ मन्त्री नियुक्त नहुँदा रोकिएको छ । ‘हामी
(झापा, मोरङ र सुनसरी जिल्ला) मुआब्जा बाँड्न तयारी अवस्थामा छौं । तर रेल विभागले नयाँ मन्त्रीको निर्देशन आएपछि मात्र बाँड्ने भन्दै केही समय पर्खिन भनेपछि मौन बसेका छौं ।’ झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले भने–माथिको निर्देशन आउनासाथ मुआब्जा बाँड्छौं । र, बाँकी निर्माणको काम अघि बढाउने जिम्मा रेल्वे विभागलाई जान्छ ।’ यसअघि निषेधाज्ञा नभएको अवस्थामा रेल्वे विभाग अन्तर्गतको आयोजनाले गत असार मसान्त सम्ममा रेल्ले प्रभावितलाई मुआव्जा वितरण गरिसक्ने र रेल मार्ग बनाउनको लागि साउनदेखि काम शुरु गर्ने बताएको थियो  । उता रेल प्रभावित मुआब्जा पहल समिति प्रदेश नम्वर १ का सह–संयोजक तथा मोरङका संयोजक रमेश दाहालले भने मुआव्जा दिनमा ढिलाई गरेकाले सो कार्य चाँडो गर्न माग गर्दै आफूहरु डेलिगेशनमा जाने तयारीमा रहेको बताए । मुआव्जा वितरणमा ढिलाइ हुँदा आफूहरु अन्योलमा परेको उनको गुनासो छ ।

Author

You may also like