समाचार

डि.कौडिन्य पुरस्कार साउनमा

विर्तामोड/तत्कालिन शाही सेनाद्वारा झापाको चारआली सैनिक ब्यारेकमा २०५९ साल साउन ७ गते हत्या गरिएका झापाका पत्रकार देवकुमार आचार्य डि कौडिन्यको नाममा स्थापित डि कौडिण्य पत्रकारिता पुरस्कार यस वर्ष साउन ७ गते विर्तामोडमा प्रदान गरिने भएको छ ।
बुधबार विर्तामोडमा भएको प्रेस संगठन झापाको आयोजनामा भएको बैठकले हरेक वर्ष साउन ७ गते प्रदान गरिँदै आएको उक्त पुरस्कारको राशी समेत बढाइएको छ । पहिले १५ हजार रुपैयाँको उक्त पुरस्कारको राशी बढाएर हाल २१ हजार बनाइएको छ । पुरस्कार छनौटका लागि प्रेस संगठनका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ प्रदेश समिति कोषाध्यक्ष बिमल लामिछानेको संयोजकत्वमा पत्रकार महासंघ प्रदेश समिति सदस्य तथा प्रेस संगठन नेपालका प्रदेश समिति सदस्य लीलाराज झापाली, प्रेस संगठनका जिल्ला अध्यक्ष झुलन रेग्मी, पत्रकार महासंघ झापाका सचिव तथा प्रेस संगठनका नेता डिकेश लामा र पत्रकार महासंघ झापाका सहसचिव राजु पाठक रहेको पुरस्कार प्रतिभा छनौट समिति गठन गरिएको छ ।
यसअघि यो पुरस्कारबाट पत्रकारहरु चन्द्र भण्डारी, लीला बराल, गञ्जबहादुर दाहाल, विमल लामिछाने र केशव भट्टराई सम्मानित भइसकेका छन् । बुधबार भएको बैठकमा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा संघीय सांसद धर्मशीला चापागाईको प्रमुख आतिथ्यता तथा माओवादी केन्द्रका झापा जिल्ला संयोजक मणिकुमार साम्पाङ्ग विजयको विशेष आतिथ्यतामा रहेको थियो ।

Author

You may also like