दमक,झापाको दमकमा डोजर लगाएर सुकुम्बासी बस्तीको घर भत्काइएको छ । सरकारी जग्गा अतिक्रमण गरेको भन्दै शुक्रबार दमक नगरपालिकाले वडा नं. ७ मा डोजर लगाएर सुकुम्बासीका घर भत्काएको हो ।
यसअघि पटक–पटक लिखित तथा मौखिक रुपमा बस्ती खाली गर्न स्थानीयलाई उर्दी गर्दा पनि अटेर गरेपछि डोजर प्रयोग गरिएको नगरपालिकाले जनाएको छ । शुक्रबार बिहान बस्ती खाली गराउन स्थानीय प्रशासन र नगरपालिकाले बल प्रयोग गरेर डोजर लगाएको स्थानीयले बताए ।
रतुवाखोलाको बाढीले कटान गरेपछि २०४६ सालदेखि विस्थापित परिवार सो स्थानमा बस्दै आएका थिए । वडाध्यक्ष भीम पौडेलका अनुसार तत्कालीन प्रशासनले उनीहरूलाई अस्थायी रुपमा मात्र बसोबासको व्यवस्था मिलाएको थियो । पौडेलले भने, ‘वास्तविक सुकुम्बासीको पहिचान गरी नगरपालिकाले निर्माण गरेको नमूना बस्तीमा नलगिएकाहरुले प्रशासनले बस्ती खाली गर्दा डोजर लगाएको आरोप लगाएका हुन् ।’
सरकारले सार्वजनिक (सरकारी) जग्गाको खोजी गरी त्यस ठाउँमा बहुआयामिक व्यापारिक केन्द्र निर्माण गर्ने तयारी गरेको छ । दमकको नमूना मार्गमा जोडिएको उक्त बस्तीका बासिन्दालाई सरकारी जग्गा छोड्न पटक–पटक आग्रह गरेको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए । ‘नगर र प्रशासनले पहिचान गरेका सुकुम्बासी नमूना बस्तीमा बसोबास गर्न थालिसकेका छन् । जसको करोडौंको सम्पत्ति छ उनीहरू वास्तविक सुकुम्बासी होइनन् । उनीहरूले अटेरी गरिरहेका छन्,’ नगर प्रमुख ओली भने । प्रशासनले गत वर्ष नै हटाउने तयारी गरेको थियो । कोभिडका कारण गत वर्ष उनीहरुलाई नहटाइएको नगर प्रमुख ओलीले बताए । सो क्षेत्रमा बस्ती उठाउन प्रशासनले कम्तीमा तीन सय प्रहरी परिचालन गरेको थियो ।