अहिले देशको प्रधानमन्त्रीको रूपमा बालेन्द्र शाहको स्वागत गर्न जनता तयार छन्। उनलाई फुलमालाबाट होइन उनले गर्ने कामहरुबाट नै उनको स्वागत गर्ने र उनको मूल्याङ्कन गर्ने कुरालाई नै जनादेशले अनुमोदन गरेको हुनाले देशको भावी पुस्ताको लागि बालेन्द्र शाह एउटा अनुकरणीय प्रधानमन्त्री बन्न सक्नेछन् भन्ने कुरामा देशैभरिबाट सकारात्मक विचारहरूको आदानप्रदानहरू भइरहेको देखिन्छ ।तर राजनीतिका नवग्रहहरूको फेरमा परेर धुरन्धर राजनीतिक खेलाडीहरूले पनि बेला बेलामा ठुलो राहु दशा भोग्नुपरेको र शनिको कुचक्रमा परेर देशलाई दुर्गतिमा पु¥याएको इतिहास नेपालभित्रै भेटाउन सकिन्छ, त्यसको बारेमा जनताले चासो र चिन्ता राख्नु जरुरी छ। नयाँ सरकारमा मन्त्री बन्नलाई पार्टीमा कुनै दबाब बिना नै नेतृत्व तहले सरकारमा जाने योग्य मन्त्रीहरूको छनौट गर्नुपर्दछ। जसले जति भारी बोक्न सक्दछ त्यसलाई त्यति नै जिम्मेवारी बहन गर्ने गरी मन्त्रीमण्डलमा राख्नुपर्दछ। मन्त्री बन्नका लागि घम्साघम्सी गर्ने तत्त्व हरूबाट नेतृत्व तह सतर्क हुनु जरुरी छ। राजनीति साध्य होइन विकासको साधन मात्र हो। देशको सही राजनीतिले सही विकासको बाटो र गलत राजनीतीले विकास विरोधी गतिविधिहरुलाई बढी प्राथमिकता दिन्छ त्यसमा विचार पु¥याउनु जरुरी छ ।
राजनीतिले नै समाजलाई परिवर्तन तथा रूपान्तरण गर्ने कार्यमा सक्रिय भूमिका खेल्नुपर्ने हुनाले मानिस स्वयं लाई रूपान्तरण गर्न नसके समाज र संसारको रूपान्तरण हुन कठिन छ । एउटा पुरानो विचारधारालाई नयाँ विचारधाराले यति छिटो तरिकाले प्रतिस्थापित गर्न खोज्दछ कि पुरानो विचारले एकछिन पनि आफ्नो मूल वैचारिकतामा के कस्तो र कहाँ त्रुटि थियो भन्ने कुरा सम्मको सूक्ष्म मूल्याङ्कन गर्न पाउँदैनन्। एउटा नयाँ आउन लागेको समयले पुरानो समयलाई यति छिटो गतिले धकेल्दछ कि पुरानो समयलाई सोच्न अलिकति पनि मौका मिल्दैन। पुरानो समय इतिहासमा परिणत हुना साथै इतिहासको पानामा दबिएर बसिरहनु पर्ने बाध्यता उत्पन्न हुन्छ। नेपालको इतिहासमा एउटा लामो कालखण्डसम्म चलेको राजतन्त्रात्मक राजनैतिक शासन प्रणाली नेपालकै धर्तीबाट कसरी हराएर गयो भन्ने कुरा अब राजनीतिशास्त्रका अनुसन्धान गर्ने विद्वानहरूले गर्ने अध्ययनमा भर पर्दछ ।
आज नेपालमा लामो अन्तराल पछि एउटा नयाँ राजनीतिक शक्ति नेपालको शासकीय भूमिकामा नेपालको संसद र देशको नेतृत्वदायी भूमिकामा रहने गरी नेपालका जनताहरूबाट जनादेश पाइसकेको अवस्था छ। अब दूधको दूध र पानीको पानी छुट्याइदिने अधिकार यही नयाँ राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीको हातमा आएको छ। केही दिनभित्रै देशमा नयाँ सरकारले सत्ता सम्हाल्ने तयारी जोडसोरका साथ चलिरहेको छ। यसपालि नेपालको संसदमा प्रवेश पाउने जनप्रतिनिधि मध्ये कपाल फुलेका जनप्रतिनिधिहरू र सांसद हरूको सङ्ख्या औंलामा मात्र गन्न सकिन्छ होला। सबैजसो नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरू जनता दरबारबाट छानिएर देशको सर्वोच्च कार्यकारी निकायमा पुगेका छन्। उनीहरूले हासिल गरेका योग्यता क्षमता अनुभवहरू पनि विगतका सांसदहरूको भन्दा फरक किसिमको हुन सक्दछन्। कोहीकोही सांसदहरू विशिष्ट योग्यता हासिल गरेका छन् र सम्मानित विश्वविद्यालयहरूबाट शैक्षिक उपाधि हासिल गरेका पनि छन्। उनीहरु जीवनका विविध क्षेत्रहरुबाट देशको नेतृत्व तहमा पुगेको हुनाले नेपाली जनजीवनका सबैजसो क्षेत्रहरूका समस्याहरुलाई समेट्न सक्ने अनुभव लाई व्यवहारमा पक्कै पनि देखाउन सक्नुहुनेछ भन्ने कुराको अपेक्षा गर्न सकिन्छ। यसपालिको निर्वाचनताका देशैभरि प्रधानमन्त्री पदको लागि प्रत्यक्ष निर्वाचन गराइएको हो कि भन्ने जस्तो आभास गराइएको थियो नेपालको इतिहासमा नै पहिलोपटक एउटा पार्टीबाट घोषित रुपमै भएपनि बालेन्द्र शाहले आफूलाई भावी प्रधानमन्त्रीको रुपमा उभ्याएर जनतासँग भोट माग्न पुगेका थिए र देशका हरेक कुना काप्चाबाट बालेन्द्र शाहको नाउँमा घन्टी छापमा भोट झरेको कुराले दुनियालाई अचम्ममा पारेको यथार्थ हामीसँग अझै नयाँ नै छ। संसदमा प्रधानमन्त्रीले खेल्ने भूमिका अन्य मन्त्रीहरूको भन्दा फरक र शालिन तथा विशिष्ट नै हुने गर्दछ। त्यही आधारमा देशका जनताले प्रधानमन्त्रीको काबिलियत र देशको जनताले पाउन सक्ने राहत सुविधा वा विकासका कुराहरु लाई हेर्ने गरिन्छ। अहिले बालेन्द्र शाह नेपालको सबै प्रधानमन्त्री हरुभन्दा कान्छो उमेरका प्रधानमन्त्री को रुपमा सपथ ग्रहण गर्न जाँदैछन्। जनताले उनीसँग धेरै अपेक्षा गरेका छन्। जनतासँग मत माग्न जाँदा बालेन्द्र शाहले मतदाताहरूबीच प्रत्यक्ष संवादहरू पनि गरेका छन्। त्यस आधारमा उनलाई देशको वस्तुस्थिति र देशको दशा तथा दिशा देश लाई थेग्न सक्ने र थेग्न नसक्ने कुराहरूको बारेमा राम्रो जानकारी प्राप्त भइसकेको हुनुपर्दछ। बालेन्द्र शाहले जनतामाझ जाँदा आफूले देशको लागि कार्य गर्न सक्षम रहेको हुनाले म तपाईं समक्ष प्रधानमन्त्री बन्नको लागि भोट माग्न आएको हुँ। मलाई मौका दिनुहोस् भनेर पटकपटक मिडियाहरुमा खबरहरू आइरहन्थ्यो। आज जनताले उनलाई पत्याएर संसदमा उनलाई आफ्नो भूमिका खेल्न पठाई सकेका छन् । अब संसदलाई सम्हाल्ने र देशलाई नेतृत्व गर्न सक्ने क्षमता देखाएर बालेन्द्र शाहले देश भरि नै विकासको घन्टी बजाउनु जरुरी छ ।
नेपालमा अब राजनीतिक कचकच होइन अब राजनीतिक विवेकशीलताको आवश्यकता छ। नेपालमा अब निहित स्वार्थका लागि लागि हुर्दङ्ग मचाउनु होइन, अब विकासको लागि नयाँ प्रविधि र कलाको प्रयोग गर्नु जरुरी छ। अब खेत खेतमा हलोक्रान्ति को आवश्यकता छ। विद्यालयहरूमा गुणात्मक शिक्षाको आवश्यकता छ । सरकारी कार्यालयहरूमा सेवाग्राही जनताहरूको समस्या र पिरमर्का बुझ्ने कर्मचारीहरूको आवश्यकता छ। निजी क्षेत्रमा सञ्चालनमा रहेका उद्यम र व्यवसायहरूलाई प्रतिस्पर्धात्मक ढंगले देशको हितमा प्रयोग गर्नु जरुरी छ। विदेशी बजारबाट आउने मालसामानहरूमा सरकारले देशको आवश्यकता अनुसार प्रयोग गर्ने कुराको बानी बसाल्न लगाउनु जरुरी छ। चरम विलासिताका वस्तुहरू देशभित्र आयात भइरहँदा देशको शोधनान्तर अवस्था खुस्किँदै जाने पक्का नै रहेको हुनाले अति विलासिताका वस्तुहरू माथि सरकारले नियन्त्रण गर्नु जरुरी छ । पूर्व मेचीदेखि महाकालीसम्म फैलिएर रहेको तराई मधेशका क्षेत्रहरूका बासिन्दाहरूले आफ्नो दैनिकीको लागि भारतीय बजारमा निर्भर रहनु परेकोले उक्त अवस्थामा सुधार ल्याउनु जरुरी छ र सबैभन्दा महत्त्वपूर्ण कुरो के छ भने नेपालमा पटकपटक अशान्ति र अराजकताको तुवालो उठिनै रहने अवस्थाहरू विद्यमान रहिरहेको हुनाले राज्यले देशभित्र खैलाबैला मचाउन सक्ने तत्वहरुलाई नियन्त्रण गर्न सक्ने व्यावहारिक कार्यशैली र शासकीय निपूर्णता देखाउनु जरुरी छ ।