अर्थ देश–समाज राष्ट्रिय विचार/वहस स्थानीय

आगामी सरकारले स्वास्थ्यमा गरोस् यि काम

:– डा. लेखनाथ नेउपाने –:
आगामी सरकारको प्राथमिकतामा स्वास्थ्य क्षेत्रलाई प्रभावकारी, पहुँचयोग्य र गुणस्तरीय बनाउनु अत्यन्त जरुरी देखिन्छ। कुनै पनि देश समृद्ध हुनका लागि नागरिक स्वस्थ हुनु आधारभूत सर्त हो। भनिन्छ, जहाँ नागरिकहरू कमै मात्र अस्पताल पुग्छन्, त्यहाँको स्वास्थ्य प्रणाली बलियो हुन्छ। यसको अर्थ रोग लागेपछि उपचारभन्दा रोग लाग्नै नदिने व्यवस्थामा जोड दिनु हो । यसका साथै नागरिकसँग प्रत्यक्ष जोडिएका यि सवालहरुमा पनि सरकारले प्राथमिकतापूर्वक काम गर्नु पर्ने देखिन्छ ।
१. कुनै पनि देशको समृद्धि त्यहाँका नागरिकको स्वास्थ्यमा निर्भर हुन्छ । जहाँ नागरिक कमै अस्पताल पुग्छन्, त्यहाँ स्वास्थ्य सेवा स्थानीय स्तरमै प्रभावकारी रूपमा पुगेको हुन्छ। त्यसका लागि सबैभन्दा पहिले खाद्य सुरक्षा सुनिश्चित गर्नुपर्छ । बजारमा पाइने प्याकेट खाना, फास्टफुड, तेल, तरकारी, मासु, मसला र स्ट्रिट फुड अनिवार्य रूपमा परीक्षण गरिएका र स्वस्थकर हुनुपर्छ। हरेक उत्पादन गर्ने कम्पनीमा विशेषज्ञद्वारा जाँच र मासिक परीक्षणको व्यवस्था गरिनुपर्छ । विकसित देशमा सुरक्षित मानिने पेय पदार्थ नेपालमा अस्वस्थ किन हुन्छन् भन्ने विषयमा अध्ययन गरी समाधान खोज्नुपर्छ । साथै, स्थानीय परिकारको उत्पादन, ब्रान्डिङ र बजारीकरणमा जोड दिँदा पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्छ । योग, व्यायाम र स्वास्थ्य सचेतना हरेक घरमा पु¥याउन आवश्यक जनशक्ति परिचालन गरिनुपर्छ ।
२. नेपालमा उत्पादित औषधिको गुणस्तरप्रति अविश्वास हटाउनु अत्यन्त आवश्यक छ । त्यसका लागि देशैभर गुणस्तर परीक्षण गर्ने अनुभवी टोली खटाई निष्पक्ष अनुगमन गर्नुपर्छ । गुणस्तरहीन औषधि उत्पादन गर्ने कम्पनीलाई कडा कारबाहीदेखि खारेजीसम्मको व्यवस्था गरिनुपर्छ। विदेशी औषधि मात्र राम्रो भन्ने धारणा तोड्न स्वदेशी उद्योगले गुणस्तर सुधार गर्नुपर्छ र सरकारले आवश्यक नीति तथा कानुनी सहजीकरण गर्नुपर्छ ।
३. स्वास्थ्य संस्थाहरूमा देखिएको अनियमितता, सेवा अभाव, चिकित्सक र नर्सको कमी तथा निजीमा रिफर गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ। उपलब्ध साधनस्रोतको सदुपयोग, उपकरणको मर्मत र चिकित्सकको जिम्मेवारी सुनिश्चित गर्न कडा निगरानी आवश्यक छ । प्रत्येक पालिकाबाट चिकित्सक, आयुर्वेद, नर्सिङ, फार्मेसी र ल्याब अध्ययनका लागि विद्यार्थी उत्पादन गर्ने र अध्ययनपछि आफ्नै क्षेत्रमा सेवा गर्नुपर्ने व्यवस्था मिलाउनुपर्छ । सरकारी अस्पतालमै विशेषज्ञ सेवा सुलभ रूपमा उपलब्ध गराउँदा गाउँमै २४ घण्टा उपचार सम्भव हुन्छ ।
४. पूरक चिकित्सा प्रणालीलाई सुदृढ बनाउँदै आयुर्वेद, होमियोप्याथी, एक्युपञ्चर र प्राकृतिक चिकित्सा विस्तार गर्नुपर्छ। एकीकृत चिकित्सा प्रणालीमार्फत जटिल रोगको उपचार सुलभ बनाउन सकिन्छ । निजी अस्पतालको शुल्क र सेवा गुणस्तरमा कडा अनुगमन गरी गरिब नागरिकले उपचार अभावमा ज्यान गुमाउन नपर्ने व्यवस्था गर्नुपर्छ ।
५. नेपाल चिकित्सा शिक्षाको केन्द्र बन्न सक्ने सम्भावना बोकेको देश हो । यहाँको भौगोलिक विविधता र औषधीय स्रोतले अध्ययन–अनुसन्धानका लागि अवसर दिन्छ । विदेशी विद्यार्थी र लगानीकर्तालाई आकर्षित गर्न सहज नीति ल्याउनुपर्छ। जिल्ला अस्पतालहरूलाई स्तरोन्नति गरी अध्ययन–अध्यापन केन्द्रका रूपमा विकास गर्न सकिन्छ, जसले स्वदेशमै अध्ययनको अवसर बढाउँछ ।
६. स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित कृषि क्षेत्र सुधार गर्नु आवश्यक छ । किसानलाई समयमै मल र बीउ उपलब्ध गराउने, जैविक मल उत्पादनमा जोड दिने र सहरको फोहोरबाट मल उत्पादन गर्ने योजना ल्याउनुपर्छ। बन्द रहेका उद्योग प्रयोग गरी मल उत्पादन बढाउन सकिन्छ ।
७. विषादी प्रयोगबारे किसानलाई सचेत गराउन प्राविधिक टोली परिचालन गर्नुपर्छ । हानिकारक विषादी प्रयोगमा दण्ड र राम्रो अभ्यासमा प्रोत्साहनको नीति लागू गर्नुपर्छ। उत्पादनको उचित मूल्य, बजार व्यवस्थापन, कोल्डस्टोर र ढुवानी सहज बनाउँदा किसान पलायन रोकिन्छ ।
८. पहाडी क्षेत्रमा वन्यजन्तुबाट हुने क्षति घटाउन उपयुक्त नगदे बाली (जस्तै कफी, अलैँची, अदुवा आदि) उत्पादनमा जोड दिनुपर्छ। उत्पादनको संरक्षण, भण्डारण र बजार व्यवस्थापनका लागि पूर्वाधार विकास आवश्यक छ, जसले स्वरोजगार बढाउँछ ।
९. साना व्यापारी संरक्षणका लागि सिमापारबाट हुने अनियन्त्रित सामान ओसारपसार नियन्त्रण गर्नुपर्छ । कर प्रणाली व्यवस्थित गरी स्वदेशी बजारलाई प्रतिस्पर्धी बनाउन र छिमेकी देशसँग सहकार्य बढाउनुपर्छ ।
१०. शिक्षा क्षेत्रमा आमूल सुधार ल्याउँदै विद्यालय र कलेजमा राजनीतिक हस्तक्षेप हटाउनुपर्छ । मेरिटमा आधारित शिक्षक नियुक्ति, तालिम र मूल्याङ्कन प्रणाली लागू गर्नुपर्छ । विद्यालय तहदेखि स्वास्थ्य, सरसफाइ, सीपमूलक शिक्षा र व्यवहारिक ज्ञान अनिवार्य गरिनुपर्छ ।
११. विकास निर्माणमा देखिएको ढिलासुस्ती, भ्रष्टाचार र अलपत्र योजनाको अन्त्य गर्नुपर्छ । स्रोत सुनिश्चित गरेर मात्र योजना सुरु गर्ने, समयमै सम्पन्न गर्ने र गुणस्तर कायम गर्ने प्रणाली लागू गर्नुपर्छ। सबै निकायबीच समन्वय गरी पूर्वाधार विकासलाई दिगो बनाउनु आवश्यक छ ।
१२. वन सम्पदाको संरक्षण र सदुपयोग गर्नुपर्छ। सुकेका रुखको व्यवस्थापन, स्वदेशी काठको प्रयोग र अनिवार्य वृक्षरोपणको नीति लागू गरिनुपर्छ। यसले आर्थिक स्रोत सिर्जना गर्दै वातावरण संरक्षणमा मद्दत गर्छ ।
१३. कर्मचारीतन्त्रमा सुधार गर्दै दलियकरण अन्त्य गर्नुपर्छ। योग्यता र क्षमताका आधारमा पदोन्नति, सरुवा र प्रोत्साहनको व्यवस्था हुनुपर्छ । भ्रष्टाचार नियन्त्रण र पारदर्शिता कायम गर्दै कर्मचारीको मनोबल बढाउनुपर्छ ।
१४. राज्य संरचना सन्तुलित र खर्च कम गर्ने दिशामा पुनरावलोकन आवश्यक छ । अनावश्यक खर्च कटौती गर्दै प्रभावकारी शासन प्रणाली निर्माण गर्नुपर्छ, जसले विकासलाई गति दिन्छ ।
१५. दलिय भागबण्डा अन्त्य गर्दै नीतिनिर्माणमा दक्ष, युवा र अनुभवी जनप्रतिनिधिलाई प्रोत्साहन गर्नुपर्छ । उनीहरूले देशको समग्र विकासमा केन्द्रित भएर काम गर्ने वातावरण बनाइनुपर्छ ।
१६. वैदेशिक रोजगारीमा रहेका नेपालीलाई स्वदेशमा लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ । व्यवसाय दर्ता, लगानी सुरक्षा र प्रतिफल सुनिश्चित गर्दै आर्थिक वृद्धि बढाउन सकिन्छ। विदेशमा रहेको नेपाली सम्पत्तिको खोजी गरी पारदर्शी रूपमा उपयोग गर्नुपर्छ ।
समग्रमा, स्वास्थ्य क्षेत्र सुधार बहुआयामिक विषय हो, जसमा खाद्य सुरक्षा, कृषि, शिक्षा, सुशासन र आर्थिक नीति सबै जोडिएका छन् । यी नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिएमा नेपालले छिट्टै स्वस्थ, समृद्ध र आत्मनिर्भर राष्ट्रको रूपमा आफूलाई स्थापित गर्न सक्छ ।

Author

You may also like