काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बुधबार आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् । योसँगै नयाँ संसद र सरकार गठनको औपचारीक थालनी भएको छ । केसीले राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपतिसमक्ष केसीले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रुपमा शपथ लिएका हुन् ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुखसहित उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत केसी निर्वाचित भएका हुन् । उनको उमेर ७८ वर्ष हो ।
ज्येष्ठ सदस्यको हैसियतले, केसीले बिहीवार (चैत्र १२ गते) प्रतिनिधि सभाका सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् । सभामुख निर्वाचित नभएसम्म प्रतिनिधि सभामा बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले नै गर्नुहुने प्रचलन छ । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना गरी जम्मा २७५ जना सांसद निर्वाचित भएका छन् ।
अबको प्रकृया
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले सभामुखका रूपमा शपथ लिएपछि बिहीबार उनैबाट सभाका अन्य सदस्यले शपथ लिने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ । निर्वाचन आयोगले दिएको सूचीका आधारमा नवनिर्वाचित सांसदहरूलाई मध्याह्न १ः३० को समयमा उपस्थितिका लागि सूचना जारी गरिएको छ । मातृभाषासहित अन्य भाषामा शपथ लिन चाहने सांसदका लागि ती–ती भाषाको शपथको व्यहोरा तयार भइसकेको सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले बताए । शपथपछि संक्षिप्त जलपान समारोह हुन्छ र बिहीबारको कार्यक्रम सम्पन्न हुने भएको छ । तर, प्रतिनिधिसभाको पहिलो बैठक अहिलेसम्म निश्चित भएको छैन । बैठक बस्नका लागि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आह्वान हुनुपर्छ । बहालवाला मन्त्रिपरिषद्ले सिफारिस नगरेका कारण नयाँ बन्ने मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रतिनिधिसभा सदस्यको बैठक आह्वान हुने सचिवालय स्रोतले बताएको छ ।
बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथपछि राष्ट्रपतिको कार्यालयले नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम नयाँ सरकार गठनका निम्ति आह्वान हुने सम्भावना छ । उक्त आह्वानअनुसार एक दलको बहुमतको सरकार गठन हुन्छ । सो सरकारका प्रधानमन्त्री र मन्त्रीको शपथ समारोहको व्यवस्थापन राष्ट्रपति कार्यालयले नै गर्ने हो । शपथपछि बहाल हुने मन्त्रिपरिषद्ले आवश्यक ठानेमा पहिलो वा दोस्रो बैठकबाट प्रतिनिधिसभाको बैठकको मिति राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ । त्यसअनुसार राष्ट्रपतिले बैठकको आह्वान गर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ९३ ले राष्ट्रपतिले प्रतिनिधि सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसदको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था गरेको छ । मन्त्रिपरिषद्ले संविधानको सोही व्यवस्थाको सीमाभित्र रहेर सिफारिस गर्ने प्रचलन छ ।
सभामुख चयनको प्रक्रिया
संविधान अनुसार प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ । बिहीबार नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण समारोहमात्रै हो, पहिलो बैठक होइन । यद्यपि, राष्ट्रपतिसमक्ष निर्वाचन निर्वाचन परिणाम पेश गरेको मितिले ३० दिनभित्र संघीय संसदको बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था अनुसार अब २३ दिनभित्र बैठक आह्वान गरिसक्नुपर्नेछ । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन परिणामको प्रतिवेदन चैत ५ गते पेश गरेको थियो । त्यसअनुसार वैशाख ५ गतेभित्र संघीय संसदको बैठक बसिसक्नुपर्छ । सो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाको बैठकमा सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ । त्यसका लागि पहिलो बैठकले नै निर्वाचनको तालिका पारित गर्नसक्छ । सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न भएर ती पदाधिकारी निर्वाचित भएको घोषणा हुनुअघिसम्म ज्येष्ठ सदस्यले सभामुखका सम्पूर्ण भूमिका निर्वाह गर्नुपर्ने व्यवस्था छ । यस्तै प्रधानमन्त्री नियुक्त भएको व्यक्तिले नियुक्त मितिको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको छ । त्यसैले सभामुख र उपसभामुख निर्वाचनलगत्तै विश्वासको मत लिने कार्यसूची आउने संसद सचिवालयस्रोतले जनाएको छ ।

Author

You may also like