
दमक/धेरैजसो विद्यालयहरुमा विद्यार्थीलाई पाठ्यपुस्तकको सीमाभित्र रहेर एकोहोरो सैद्धान्तिक ज्ञान दिने प्रचलन छ । सामुदायिक भनौं या निजी संस्थागत अहिलेसम्मको अभ्यास यही छ । तर शिक्षा क्षेत्रको यस्तो परिवेशमा एउटा पृथक विद्यालय पनि छ, जसले विद्यार्थीहरुलाई पढाउने मात्र होइन, कर्म दिने र विभिन्न क्रियाकलापको अभ्यास गराउने गर्दछ । अरुले नगरेका र अनुसरणयोग्य काम गर्दछ । यस्तो फरक धार र परिधिमा रहेर शिक्षण सिकाइका साथै विद्यार्थीहरुको प्रतिभा र क्षमता प्रष्फुटन गराउँदै आएको विद्यालय हो, झापाको दमक नगरपालिका–८ स्थित झापा मोडल अंग्रेजी माध्यमिक विद्यालय । यो विद्यालय निजी क्षेत्रको नमुना विद्यालयका रुपमा विकसित र परिष्कृत भइरहेको पाइएको छ ।
संयुक्त राष्ट्रसंघको नमुना अभ्यास
झापा मोडलले झापा र मोरङका विभिन्न ७ वटा विद्यालयका विद्यार्थीहरुलाई भेला पारेर तीन दिन सम्म संयुक्त राष्ट्रसंघको क्रियाकलाप र बैठकको नमुना अभ्यास गराएको छ । यस्तो अभ्यास विद्यालयको प्राङ्गणमा यही फागुन १ देखि ३ गते सम्म विहान १० देखि अपरान्ह ४ बजेसम्म गराइएको हो । अभ्यासमा सहभागी विद्यार्थीहरुको संख्या १०४ रहेको थियो । त्यसका लागि राजधानी काठमाडौंबाट त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, रातो बङ्गला स्कूल लगायतका प्रतिष्ठित शैक्षिक संस्थाका ७ जना अनुभवी र खारिएका सहजकर्ता खटिएको झापा मोडलका संस्थापक निर्देशक जयबहादुर श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार अभ्यासका क्रममा संयुक्त राष्ट्रसंघका मुख्य अंगहरु महासभा, सुरक्षा परिषद्, आर्थिक तथा सामाजिक परिषद्, अन्तर्राष्ट्रिय न्यायालय, जिम्मा जमानी परिषद् र सचिवालयको काम कारवाही तथा बैठकहरु कसरी अगाडि बढ्छन्, नीति निर्माण र निर्णय प्रकृयाहरु कस्ता हुन्छन्, सुरक्षा परिषद्मा त्यसका पाँच सदस्य राष्ट्रहरुले कसरी भिटो पावरको प्रयोग के कस्तो अवस्थामा गर्दछन्, विभिन्न सदस्य राष्ट्रका प्रतिनिधि राजदूतहरुले आफ्नो देशको अडान र एजेण्डा कसरी अघि सार्छन् भन्ने बारेमा सहभागी विद्यार्थीहरुलाई नमुना बैठक बसालेर अनुभव र अनुभूति गर्न लगाइएको थियो । अभ्यासका लागि विद्यार्थीहरुलाई विभिन्न पात्रका रुपमा खडा गरेर बोल्न, लेख्न, भूमिका निर्वाह गर्न र प्रस्तुत हुन कलासहित सिकाइएको थियो, जुन उनीहरुले अभ्यासका क्रममा सफलतापूर्वक प्रभावकारी ढंगबाट गरेर देखाएका छन् । यसबाट सहभागी विद्यार्थीहरुमा संयुक्त राष्ट्रसंघको बडापत्र, अवधारणा, नीति नियम, अन्तर्राष्ट्रिय मूल्य मान्यता र अभ्यास अनि प्रचलन, कानुन, कार्यविधिका बारेमा ज्ञान हासिल भएको साथै विद्यार्थी जीवनमै उनीहरुलाई यस्तो मौका दिइएको झापा मोडल अंग्रेजी माध्यमिक विद्यालयका प्रिन्सिपल सागर श्रेष्ठले जानकारी गराए ।
नेतृत्व र क्षमता विकासमा मद्दत
संयुक्त राष्ट्रसंघको यस्तो अभ्यासबाट सहभागी विद्यार्थीहरुको नेतृत्व र क्षमता विकासमा मद्दत पुगेको पनि प्रिन्सिपल श्रेष्ठको भनाई छ । विद्यार्थीहरुको समूह कार्य, प्रतिभा प्रष्फुटन, अनुशासन, अनुसन्धान कार्यबारे जानकारी, नियममा बस्ने बानी लगायतका क्षेत्रमा विकास भएको पनि उनले बताए । विद्यालयलाई चाहीँ यस्तो अभ्यासको नयाँ कार्यले के फाइदा पुग्छ भन्ने प्रश्नमा प्रिन्सिपल श्रेष्ठले शैक्षिक वातावरण निर्माण, अनुशासित विद्यार्थी उत्पादन, नीति र नियममा अडिग हुने सिकाइ साथै अतिरिक्त क्रियाकलापको माध्यमबाट सामाजिक उत्तरदायित्वमा सघाउ पुगेको जवाफ दिए ।
विद्यार्थीहरुमा भने नयाँ नयाँ खोज र अनुसन्धानमा रुचि, समूहमा काम गर्ने बानी, पक्ष र विपक्षमा काम गर्ने शैली र अनुशासन, पक्ष र विपक्षको तर्कलाई उचित ढंगले खण्डन र समर्थन गर्ने तौरतरिका अनि समसामयिक घटनाको विश्लेषण गर्न पनि सहयोग पुगेको झापा मोडलका संस्थापक निर्देशक श्रेष्ठको टिप्पणी छ ।
उद्घाटन परीक्षा नियन्त्रकबाट, समापन मेयरबाट
संयुक्त राष्ट्रसंघको यस्तो नमुना अभ्यासको उद्घाटन त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक प्राध्यापक डाक्टर गोविन्द प्रसाद गुरागाईबाट भएको थियो भने समापन दमक नगरपालिकाका मेयर राम कुमार थापाबाट गरिएको थियो । अभ्यासमा सहभागी विद्यार्थी झापा मोडलमा कक्षा ९ मा अध्ययनरत समुन्द्र बरालले विद्यालयको यस्तो क्रियाकलापबाट आफूहरुलाई अन्तर्राष्ट्रिय आयामका बारेमा जान्न र बुझ्न विशेष मौका मिलेको प्रतिक्रिया दिए । सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत प्रज्वल पाठकले भने देश र विदेशको नेतृत्व तहमा पुग्दा अन्तर्राष्ट्रिय मञ्चमा कसरी काम गर्ने भनेर सहभागी विद्यार्थीहरुलाई जानकारी मिलेको बताए । अर्कातर्फ गौरादह नगरपालिकामा रहेको स्कूलचौन माध्यमिक विद्यालयका शिक्षक प्रेम सुवेदीले भने झापा मोडलले अभ्यासमा विभिन्न सामुदायिक तथा निजी विद्यालयहरुलाई सहभागी गराएर आकर्षणको केन्द्र बनेको प्रष्ट पारे ।
यस्तो कार्यमा सामुदायिक र निजी दुवै प्रकारका विद्यालयहरुले हातेमालो र सहकार्य गरेर अघि बढे त्यसबाट दुवैलाई शैक्षिक गुणस्तर अभिवृद्धिमा फाइदा पुग्ने विश्वास झापा मोडलका संस्थापक निर्देशक श्रेष्ठले गरेका छन् । यसका लागि आवश्यक सहयोग र सहकार्य गर्ने दमक नगरपालिकालाई उनले धन्यवाद पनि दिए । दमक नगरपालिकाका मेयर थापाले पनि झापा मोडलको कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तरताका लागि शुभकामना दिए ।
नमुना बन्दै झापा मोडल
झापा मोडल अंग्रेजी मा.वि. विद्यार्थीहरुको शैक्षिक नतिजामा मात्र होइन, अतिरिक्त क्रियाकलापहरुमा पनि अब्बल रहँदै आएको छ । यो विद्यालयमा स्काउटको एनसीसी क्याडेट तालिम हुन्छ, संघीय संसदको अभ्यास गराइन्छ, कराते, तेक्वान्दो लगायतका शारीरिक अभ्यास सम्बन्धी खेलहरु गराइन्छ, संगीत र नृत्यको प्रभावकारी प्रशिक्षण दिइन्छ । भौतिक संरचनाले मात्र होइन, गुणस्तरमा समेत अब्बल रहेकाले झापा मोडल निजी क्षेत्र तर्फ कोशी प्रदेशकै नमुना विद्यालय बन्दै गएको निष्कर्ष निकाल्न सकिन्छ ।