पंकज दाहाल

दमक/ झापाको दमकमा कोशी प्रदेशमै संभवतः यस प्रकृतिको पहिलो पटक नेपाल विज्ञान उत्सव भव्यतापूर्वक सम्पन्न भएको छ । दमक–८ स्थित झापा मोडल अंग्रेजी माध्यमिक विद्यालयको प्राङ्गणमा शुक्रबार एकदिन आयोजना गरिएको यस्तो उत्सवमा जिल्लाभरिका विद्यार्थी र अभिभावक लगायतको आकर्षण रहेको थियो । उत्सव जिल्लाका विभिन्न विद्यालयका विद्यार्थी, स्थानीय अभिभावक, प्राध्यापक, शिक्षक, वैज्ञानिक, अनुसन्धानकर्ता, जनप्रतिनिधि, कर्मचारी तथा स्वदेशी र विदेशी स्वयंसेवक गरी करिव १ हजार ३ सय जनाले सहभागिता जनाई अवलोकन गरेको जानकारी गराइएको छ । उत्सव सफलतापूर्वक सम्पन्न भएको पनि झापा मोडलका प्रिन्सिपल सागर श्रेष्ठले बताए ।

उत्सवमा विज्ञान, प्रविधि, ईन्जिनियरिङ, गणित, बायोसाइन्स, बायोटेक्नोलोजी, जलविद्युत, कृषि, कम्युटर विज्ञान, सूचना प्रविधि लगायतका गरी २८ वटा स्टलहरु राखिएका थिए । जसमा ६ वटा स्टलहरु झापा मोडलका विद्यार्थीहरुका र बाँकी २२ वटा स्टलहरु आयोजक संस्था र सह–आयोजक संस्थाका रहेका थिए । उत्सवको आयोजक इन्गेज नेपाल विथ साइन्स तथा सह–आयोजकमा रिसर्च इन्स्टिच्यूट फर बायो साइन्स एण्ड बायोटेक्नोलोजी (रिब) र झापा मोडल अंग्रेजी माध्यमिक विद्यालयले आफ्नो भूमिका निर्वाह गरेका थिए । उत्सवमा झापाको धुलाबारी, कनकाई, कमल र दमकका विद्यार्थी तथा शिक्षक लगायतको सहभागिता र उपस्थिति रहेको बताइएको छ ।
विज्ञान शिक्षालाई कति व्यवहारिक र प्रयोगात्मक बनाउन सकिन्छ तथा यसको शिक्षण सिकाइको अभ्यासलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले सो उत्वसको आयोजना गरिएको सो विद्यालयका प्रिन्सिपल सागर श्रेष्ठले प्रष्ट पारे । उद्देश्यअनुरुप थोरै भएपनि त्यसमा मद्दत र योगदान पुगेको सहभागीहरुले दिएको प्रतिक्रियाबाट आफूले महशूस गरेको उनको भनाई छ । विद्यालयका संस्थापक निर्देशक जयबहादुर श्रेष्ठले भने उत्सवको आयोजनाले दमकलाई कोशी प्रदेशकै शैक्षिक हव बनाउने कुरामा थप बल मिलेको पनि बताए । उत्सवको उद्घाटन गरेका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विजुकुमार थपलियाले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस किसिमको कार्यले विद्यालयका विद्यार्थीहरुलाई उत्प्रेरणा र हौसला प्रदान गरेको बताए । उनले क्याम्पसका तहको शिक्षाका लागि गुणस्तर अभिवृद्धि र विद्यालयबाट क्षमतावान विद्यार्थी पठाउने कुरामा सहयोग पुग्ने आफूलाई लागेको धारणा राखे ।
विशिष्ट अतिथि पूर्वाञ्चल विश्वविद्यालयकै स्कूल अफ ईन्जिनियरिङका डीन प्राध्यापक डाक्टर भोलानाथ शर्माले विद्यालय क्याम्पस स्तरको शिक्षाका लागि आधारभूत शैक्षिक जनशक्ति उत्पादन गर्ने नर्सरी (व्याड) भएको साथै यस्तो विज्ञान उत्सवले व्यवहारिक र प्रयोगात्मक शिक्षामा टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा दमक नगरपालिकाका प्रमुख राम कुमार थापा, वडाध्यक्षहरु क्रमशः ७ का भीमप्रसाद पौडेल, ८ का धर्मप्रसाद (दिपेश) दाहाल र ९ का कुवेर प्रसाद भट्टराई, नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रविण खड्का, दमक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख यज्ञराज (राम) गिरीको विशेष आतिथ्यता रहेको थियो भने झापा मोडलका अभिभावक संघ र शिक्षक अभिभावक संघका अध्यक्ष तथा सदस्यहरुको पनि विशेष सक्रियता रहेको थियो । त्यस अवसरमा दमक नगरपालिका शिक्षा समिति संयोजक तथा वडा नं. ९ का वडाध्यक्ष कुवेर प्रसाद भट्टराईले दमकलाई शैक्षिक हव बनाउने र शिक्षण सिकाइका क्रियाकलाप गर्ने विद्यालयहरुमध्येमा झापा मोडल अग्रस्थानमा रहेको बताए । उनले गुणस्तरीय र प्रभावकारी शिक्षाका लागि नगरपालिकाले पनि उल्लेख्य लगानी गर्नुका साथै महत्वपूर्ण चासो राखेको अवस्थामा यस्ता कार्यक्रमहरुले उद्देश्य पूरा गर्ने कुरामा निजी क्षेत्रको तर्फबाट मद्दत पु¥याइरहेको धारणा राखे ।
उत्सवमा सहभागी विद्यार्थी शुभम् सिग्देलले विज्ञान उत्सव विद्यार्थीहरुका लागि देख्ने र शिक्षा हासिल गर्नेहरुका लागि एउटा महत्वपूर्ण अवसर रहेको प्रतिक्रिया दिए । अभिभावक सन्दिप चापागाई (दिपु) ले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धी र क्षमतावान विद्यार्थी उत्पादन गर्ने कार्यमा झापा मोडलले गर्दै आएका क्रियाकलापहरु सहयोगी सावित हुने अपेक्षा एवं विश्वास व्यक्त गरे । विद्यालयका संस्थापक निर्देशक जयबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विज्ञान उत्सव आयोजना गर्नुको औचित्य र उद्देश्यमाथि प्रिन्सिपल सागर श्रेष्ठ, स्वागत मन्तव्य स्कूल को–अर्डिनेटर जस्मिन श्रेष्ठ र कार्यक्रम संचालन शिक्षिका संगीता राईले गरेका थिए । उत्सवमा बेलायतको लण्डनबाट ३ जना, इडेनवर्ग युनिभर्सिटी स्कटलैण्डका १ जना वैज्ञानिक र २ जना अनुसन्धानकर्ता तथा विद्यालयका बाहिरका आयोजक संस्थाका ४० जना स्वयंसेवकहरुको विशेष सक्रियता रहेको थियो ।