देश–समाज मुख्य समाचार स्थानीय

झापामा ५ हजार बढी विस्थापित, देशभर ठूलो जनधनको क्षति

दमक । शनिबार साँझदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेर देशभर ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी क्षति कोशी प्रदेशमा भएको छ । यस प्रदेशको इलाम जिल्लामा मात्रै ३७ जनाको मृत्यु भइसकेको छ । योसहित देशभर ४ दर्जन बढीको मृत्यु भईसकेका विभिन्न समाचार संस्थाले यो समाचार तयार पर्दासम्मको तथ्याङ्क सार्वजनिक गरेका छन् ।
झापामा बाढीले विस्थापित बनाएका परिवारको संख्या २५ हजार नाघेको छ । असोज १९ गतेदेखि परेको अविरल वर्षापछि जिल्लाका विभिन्न स्थानीय तहका बस्ती डुबानमा परेका छन् । प्रहरी कार्यालय झापाका अनुसार अहिलेसम्म ५, ४८१ घर धुरीका २५,२३१ जना बाढीका कारण विस्थापित भएका छन् ।
सबैभन्दा बढी झापा गाउँपालिकाका ५ हजार १ सय ८९ घरधुरीका करिब २४ हजार सर्वसाधारण विस्थापित भएका छन् । विशेष गरी झापा गाउँपालिका १, २, ३, ६ र ७ का स्थानीय अत्यधिक प्रभावित भएका छन् । यी वडामा माइ खोलाको बाढी पसेको छ । प्रभावितहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
त्यस्तै शिवसताक्षी नगरपालिकाका ४७ घरधुरीका १ सय ८२, गौरीगन्ज गाउँपालिकाका ४१ घरधुरीका २ सय ४६ सदस्य विस्थापित भएका छन् ।
त्यस्तै गौरादहका ३१ घरधुरीका १ सय ४४ जना, भद्रपुरका २७ घरधुरीका ९० जना विस्थापित भएका छन् ।
सबै विस्थापितहरु आफन्त, स्थानीय विद्यालय, सामुदायिक भवन र मन्दिरहरूमा अस्थायी शिविर बनाइ बसेका छन् ।
अर्जुनधारा, मेचीनगर, गौरादह, बुद्धशान्ति गाउँपालिकाका बस्तीहरूमा पनि बाढीले ठूलो क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बाढीले घर, बाख्रा, गाईभैँसी, अन्नबाली र विद्युत्–सडक संरचना समेत क्षतिग्रस्त पारेको छ ।
जिल्ला प्रशासन कार्यालय झापाका अनुसार प्रहरी, सशस्त्र र स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले तत्कालका लागि पीडितलाई खाद्यान्न, पानी र औषधिको आपूर्ति गर्न स्थानीय तहसँग समन्वय गरेको जनाएको छ ।
आइतबार विहान ११ वजे कनकाई–४ कोटीहोम स्थित कनकाई माई खोलाकोबिच भागको डिलमा अन्दाजी ६५ वर्षका नामथर नखुलेको एक पुरुष मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।
कन्काई नदीले गौरीगञ्ज २ झापामा हुलाकी राजमार्गको तल्लो तटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्धन कटान गर्दा होकलबारी गाउँको करिब ११४ घरबारी डुबान भएको छ भने ५०० हेक्टर धान खेतमा क्षति पुगेको छ । झापा गाउँपालिका २ को कुवाडीमा अनुमानित २०० मिटर तटबन्ध कटान गरी करिब २५ हेक्टरमा क्षति भएको छ । त्यहाँ अनुमानित क्षतिको लागत रु ७५ लाख रहेको छ ।
यसैगरी काँकरभिट्टा स्थित कालीखोलामा निर्माणाधीन एशियन हाइवेको सडक भत्किएपछि बाटो अवरूद्व भएको थियो । सडक छेउको बगानबाट साना गाडीहरू काँकरभिट्टा आउन– जान थालेको भएपनि जनजिवन प्रभावित भएको छ । त्यस्तै शिवसताक्षीमा पनि एशियन हाइवे सडकको डाइभर्सन भत्किएर यातायाता सूचारू हुन सकेको छैन ।
पूर्व–पश्चिम निर्माणाधीन एसियन हाइवे अन्तर्गत झापाको माइधार–दुधे सडकखण्ड समेत अवरुद्ध भएको छ । लगातारको वर्षापछि आएको भालुखोलाको बाढीले सडकको डाइभर्सन आइतबार बिहान बगाएपछि सवारी आवागमन अवरुद्ध भएको हो ।
सो सडकखण्ड भएर गुड्ने गाडीहरुलाई डाइभर्ट गरिएको छ । प्रहरीका अनुसार पूर्वबाट पश्चिम जाने सवारी साधनहरु माईधारबाट दक्षिण कन्काई नहर हुँदै संगम चोक र पश्चिमबाट पूर्व जाने सवारी साधनहरु संगमचोकदेखि दक्षिण कन्काई नहर हुँदै माईधार डाइभर्ट गरिएको हो ।
क्षति भएको डाइभर्सन मर्मतको काम थालिएको छ । झापाकै काली खोलामा आएको बाढीले मेचीनगर नगरपालिका–६ र सुकुना खोलामा आएको बाढीले सिवसत्ताक्षी नगरपालिका–१० खण्डमा पनि राजमार्ग अवरुद्ध भएको हो ।
झापाको बाहुनडाँगीमा हात्तीको छावा खोलाले बगाएर ल्याएपछि स्थानीयले समातेर डिभिजन वन कार्यालय झापालाई बुझाएको प्रहरीले जनाएको छ ।
एसियन हाइवे अवरुद्ध
दमक । अविरल वर्षाका कारणे एसियन हाइवे समेत अवरुद्ध भएको छ ।
झापाको शिवसताक्षी –१० मारहेको भालु खोलामा पूर्वपश्चिम एसियन हाईवे मर्मतको लागि ह्युमपाईप लगाई बनाइएको डाइभर्सन उक्त खोलामा आएको पानीले साईडको माटो कटान गरेपछि शनिबाररातिदेखि नै बाटो अवरुद्ध भएको थियो । डाइभर्सन बगाएपछि सवारी साधनलाई बैकल्पिक बाटो शिवसताक्षी– ९ हँुदै माईधार निस्कने गरी सुचारू गरिएको छ ।
त्यस्तै मेचीनगर –६ को पूर्वपश्चिम राजमार्गस्थित कालीखोलामा कल्भर्टको ह्युमपाइपमाथि सडकसम्म बाढी आएपछि सवारी साधनको आवतजावत बन्द भएको छ । भालु खोलामा करिव ३० मिटर र काली खोलामा करिव १५ मिटर वास आउट भएको काँकडभिट्टा– लौकही सडक आयोजना पूर्वी खण्डले जनाएको छ । त्यस कार्यालयका एक कर्मचारीका अनुसार दुवै ठाउँमा धमाधम काम भइरहेकाले ठूलो पानी नपरेको खण्डमा आइतबार रातिदेखि एसियन हाइवे सुचारु हुनेछ ।
पाँचथरको तुम्वेबा गाउँपालिकामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुम्वेबा–४ ओलने बस्ने ७९ वर्षीया कान्छीमाया शेर्पा छिन् । शनिबारको पहिरोमा परेर उनको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी दीपक पोखरेलले रातोपाटीलाई बताए । कोशी प्रदेशमा प्राकृतिक विपद्को कारण मृत्यु भएकाहरू मध्ये २६ जनाको सनाखत भएको छ ।
यसैगरी, खोटाङमा खोलाले बगाएर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ घर भएका सुमन बिक छन् । २१ वर्षीय बिकको स्थानीय खोलाले बगाएर मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी दीपक पोखरेलले रातोपाटीलाई बताए ।
उता उदयपुरको बेलकामा पनि खोलाले बगाएर मञ्जु अधिकारीको मृत्यु भएको छ । अधिकारी मोरङको सुन्दर हरैंचा नगरपालिकाकी स्थानीय हुन् ।
कोशी ब्यारेजको पुलमा ठूला गाडीमाथि रोक
सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार, आइतबार साँझ ४ बजेसम्ममा सप्तरी–सुनसरी सिमानामा रहेको कोशी ब्यारेजमा पानीको बहाव ५ लाख ३३ हजार ५४० क्युसेक पुगेको छ ।
खतराको तह नाघेपछि ब्यारेजका सबै ५६ ढोका खोलिएको उनले जानकारी दिएका छन् । पानीको स्तर बढेसँगै त्यहाँ अत्यधिक जाम भएको छ । अहिले साना सवारीसाधन, तीनपांग्रे, मोटरसाइकल तथा आपतकालीन सवारीसाधनलाई मात्र आवतजावत गर्न दिइएको छ भने ठूला सवारीसाधन रोकिएको प्रहरीले जनाएको छ । त्यसको असर भारतको विहारमा परेको छ । विहारका गाउँहरु समेत जलमग्न भई डुबानमा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
२० हजार बढी
जनशक्ति परिचालन
दमक । नेपाल प्रहरीले विपद् प्रतिकार्यका लागि देशभर २० हजार ४ सय ८५ जनाको जनशक्ति परिचालन गरेको छ ।
विपद् व्यवस्थापन कार्यालयहरू, मातहतको गुल्महरू र प्रहरी कार्यालयहरूबाट उक्त संख्यामा जनशक्ति परिचालन गरिएको विपद् व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिए ।
कोशी प्रदेशमा हाल पनि जोखिम रहेको अवस्थालाई मध्यनजर गरी संयुक्त रूपमा सुरक्षाकर्मी परिचालित भइरहेको उनले बताए ।
काठमाडौंमा मात्रै शनिवार १ सय ३० जना प्रहरी परिचालन भएको र १५–१५ जनाको टोलीले ¥याफ्टिङ बोटहरुसहित काठमाडौँको लागि मात्रै केन्द्रित गरेर काम गरेको उनले बताए ।
विपद् व्यवस्थापन कार्यालय मातहतकै विभिन्न सात प्रदेशमा रहेको प्रदेश प्रहरी गुल्महरूमा पनि १ सय २५ को दरले स्ट्याण्डबाइ रहेर मौसम प्रतिकुलताको समयमा परिचालित भइरहेको बताए।
त्यस्तै पहिरोमा पुरिएर बेपत्ता भएका मानिसहरूको खोजी कार्य जारी रहेको उनले बताए ।

Author

You may also like