देश–समाज मुख्य समाचार स्थानीय

आन्दोलन पश्चातको अन्योलता हट्ने प्रक्रियामा

दमक/ जेन जीको आन्दोलन पश्चात देशभरका सेवा प्रवाह कसरी सुचारु गर्ने भन्ने अन्योलता भईरहेका बेला जिल्ला–जिल्लामा सुरक्षा प्रमुखसहितका बैठकहरु भईरहेका छन् । शान्ति, सुरक्षा अमनचयन कायम गर्ने पहिलो निकाय प्रहरी पुर्नस्थापित कसरी गर्ने र अन्य सेवाहरु सहज ढंगबाट सुचारु गरेर जनतालाई सेवा कसरी चाँडो प्रदान गर्ने भने विषयमा गहन छलफल र निर्णयहरु भईरहेका छन् ।
सोही क्रममा झापामा अन्तरपालिका स्तरीय बैठक बसेको छ । झापाका पालिका प्रमुख, उपप्रमुख र कार्यकारीसहितको सो बैठक बैठक बसेर सहज वातावरण बनाउन र सेवा प्रवाह कसरी गर्ने भन्नेमा छलफल गरेका छन् ।
गाउँपालिका तथा नगरपालिकाका अध्यक्षहरुको अध्यक्षतामा आयोजित सो बैठकमा दमकको तर्फबाट नगरप्रमुख रामकुमार थापा, वडा नं. ७ का वडाअध्यक्ष भीम पौडेल, उद्योग वाणिज्य संघलगायतका पदाधिकारीहरुको सहभागिता रहेको छ । जिल्ला समन्वय समितिको भवनमा भद्रपुरमा आयोजित सो बैठकमा दमक नगरपालिकाको तर्फबाट इलाका प्रहरी कार्यालय जतिसक्दो चाँडो पुनस्र्थापित गर्ने र चाडपर्वको बेला कालोबजारी बढिरहेको सन्दर्भमा उचित व्यवस्थापन मिलाउन ध्यानाकर्षण गराइएको नगरप्रमुख थापाले बताएका छन् ।
थापाका अनुसार प्रहरीलाई पुनस्र्थापित नगराउञ्जेल गस्ति बढाउन आग्रह पनि गरिएको छ । सो बैठकमा शान्ति सुव्यवस्था कायम गर्दै जनतालाई दिने सेवा प्रवाह जतिसक्दो चाँडो कसरी गर्ने भन्ने सन्दर्भमा अवाश्यक पूर्वाधारको खोजि गरी तदारुकताका साथ सेवा प्रवाहलाई अगाडि बढाउने सो बैठकमा छलफल भएको बताए । थापाले भग्नावशेषमा परिणत भएका संरचनाहरुको प्रहरी मुचुल्का उठाउने सन्दर्भमा पनि कुराकानी भएको र त्यसको जतिसक्दो चाँडो प्रहरी खटाउन आग्रह गरिएको छ । सोही बमोजिम दमक नगरपालिकको आकस्मिक बैठक आज र भोलिभित्र बस्ने पनि नगरप्रमुख थापाले बताए ।
यसैगरी, जिल्ला प्रशासन कार्यालय मोरङले जिल्ला स्थित विभिन्न कार्यालय प्रमुखहरूको आकस्मिक बैठक बसेर जिल्लाको जनजीवनलाई सामान्य बनाउन र सेवाप्रवाह सूचारु गर्ने निर्यण गरेको छ । बैठकले क्षतिको विवरणको मूचुल्का तयार गर्ने, क्षति भएको सामग्रीको रकम यकिन गर्ने र सकभर छिटो सेवा प्रवाहको व्यवस्थापन गर्ने निर्यण गरेको हो ।
यस्तै,सेवा दिन नसकिने अवस्था भए सो को सूचना सेवाग्राहीलाई प्रवाह गर्ने र वडाबाट दिइने सिफारिस
(जिल्ला प्रशासन कार्यालय र मालपोत तथा नापी कार्यालय सूचारु नहुन्जेल सम्म) नदिने निर्यण गरेको जनाएको छ ।
सर्वोच्चमा पाल टाँगेर सेवा प्रवाह
सर्वोच्च अदालतमा आइतबाट पाल टाँगेर सेवा प्रवाह सुरु गरिएको छ । यसअघि सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक (फूल कोर्ट)ले आगामी आइतबारदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनहरू हेर्न थालिने जनाएको थियो ।
सर्वोच्च अदालतले आफ्नो परिसरमा केही पाल टाँगेर प्रशासनिक र इजलास अघि बढाउनेगरी काम थालेको हो । इजलास सुरु भएको ६ दिनपछि अड्डा अदालतहरूमा दसैँबिदा सुरु हुनेछ । दसैँका बेलामा १५ दिन अदालतमा बिदा दिने र न्यायाधीशहरुले घरमै फैसला लेख्ने अभ्यास छ । तर, यसपटक अदालतको सबै संरचना क्षतविक्षत भएकाले न्यायाधीशहरू संरचना व्यवस्थापनका लागि नियमित अदालत आउनेबारे छलफल गरेका थिए । अन्नपूर्ण न्यूरो अस्पताल अगाडीपट्टि बनिरहेको भवनमा समेत इजलास सञ्चालनको सम्भावनावारे अध्ययन भइरहेको छ ।

Author

You may also like