देश–समाज राष्ट्रिय समाचार स्थानीय

एसईई परीक्षाफल प्रकाशनमा परिक्षा बोर्ड नै अनभिज्ञ

दमक/ माध्यमिक शिक्षा परीक्षा (एसइई) सकिएको दुई महिना बितिसक्दा पनि नतिजा अनिश्चित बनेको छ । एसइई परीक्षा दिएका करिब पाँच लाख विद्यार्थीहरू यतिखेर यही नतिजाको पर्खाइमा छन् । अघिल्ला वर्षहरूमा एसइई परीक्षा नतिजा असार दोस्रो/तेस्रो हप्तामा प्रकाशित हुने गरेको थियो ।
तर, यस वर्षको परीक्षा नतिजा प्रकाशनमा शिक्षकहरूको आन्दोलनका कारण ढिलाई हुने देखिएको छ । २०८१ सालको एसइई परीक्षा गत चैत ७ गतेबाट सुरू भएर १४ गते सकिएको थियो । प्राविधिक धारतर्फको भने चैत १९ गते सकिएको थियो । तर उत्तरपुस्तिका परीक्षण गर्ने बेला चैत २० गतेदेखि नै ‘शिक्षा विधेयक’ जारी गर्नुपर्ने माग राख्दै देशभरका शिक्षक÷कर्मचारीहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी भए ।
उनीहरूको आन्दोलन २९ दिनसम्म चल्यो । गत वैशाख १७ गते सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएपछि भने शिक्षकहरू घर फर्किएका थिए । त्यसपछि बन्द भएका सामुदायिक विद्यालय खुले । नयाँ भर्नासँगै पठनपाठन पनि सुरू भयो । रोकिएको एसइई उत्तरपुस्तिका परीक्षण कार्य पनि सुरू भएपनि समयमा नतिजा आउने सन्दर्भमा परीक्षा बोर्ड नै अनभिज्ञता प्रकट गर्दछ । अब कहिलेसम्ममा नतिजा प्रकाशित होला भन्ने प्रश्नमा बोर्डले समेत यकिन समय तोक्न सकेको छैन । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप–नियन्त्रक तारानाथ निरौलाका अनुसार अहिले परीक्षण केन्द्रहरूबाट उत्तरपुस्तिका परीक्षण सकिएर केन्द्रमा आउने क्रम जारी छ । निरौला भन्छन्– ‘अझै सबै परीक्षण केन्द्रहरूबाट उत्तरपुस्तिका आइसकेको छैन,आउने क्रम जारी छ । सबै परीक्षण केन्द्रहरूबाट परीक्षण भएको तथ्यांकसहितको उत्तरपुस्तिका आइसकेपछि मात्रै यो समयमा नतिजा प्रकाशन हुन्छ भनेर भन्न सक्छौँ, अहिले चाही भन्न सक्दैनौँ ।’

Author

You may also like