
दमक । २०३६ को राजनीतिक उथलपुथलमा जनतालाई सुसूचित गराउँदै शिक्षित समाज स्थापनार्थ स्थापित दमकको अब्बल निजी विद्यालय चुलाचुली बोर्डिङ माध्यमिक विद्यालय आफैमा गर्भिलो ऐतिहासिकताबाट अभिप्रेरित छ । यस विद्यालयमा गएका बालबालिकाको भविष्यका निम्ति विद्यालयका संस्थापक मनोजकुमार राई र प्रधानाध्यापक चन्द्रप्रकाश राईको अथक मेहनत, परिश्रम र विद्यार्थी र शिक्षाप्रतिको दायित्व वहन गर्दै २०४७ सालमा ७ जना विद्यार्थी लिएर एसएलसीमा सहभागी विद्यालयले सबै प्रथम श्रेणीमा उत्तिर्ण गराएर नयाँ इतिहास रचेकै छ ।
तिनै विद्यार्थीहरु पछि इन्जिनियर, डाक्टर, प्रशासक हुँदै देश विदेशमा विभिन्न तह र तप्कामा छरिएका छन् । १ सय ११ जना विद्यार्थीबाट ११ सय विद्यार्थीको भाग्य र भविष्य खोजिरहेको विद्यालयले अतिरिक्त क्रियाकलापमा उत्तिकै अब्बल दरिएको छ । २०७३ सालमा एन्फा कोकाकोला राष्ट्रिय फुटबलमा उपाधि ल्याएको विद्यालय त्यसपछिका विभिन्न खेलकुदका इभेन्टहरुमा उत्कृष्टता देखाएर छुट्टै पहिचान कायम गर्न सफल भएको छ ।

यतिखेर आन्तरिक खेलकुदमा व्यस्त रहेको विद्यालयले गत माघ ३० गतेदेखि सञ्चालन भएको अन्तरसदनात्मक छात्र तथा छात्रा वास्केटबल प्रतियोगीता सम्पन्न गरेको छ । प्रजातन्त्र दिवस (२००७ फागुन ७) कै सम्झना स्वरुप विद्यालयले बास्केटबलमा नगरस्तरी, क्षेत्रिय, राष्ट्रिय देखि अन्तर्राष्ट्रियसम्मका प्रतिष्पर्धामा सहभागिता गराउन सहज हुने भन्दै विद्यालयले आन्तरिक प्रतिष्पर्धाबाट सो बास्केटबलको फाइनल सोमबार सम्पन्न गरेको प्रिन्सिपल चन्द्रप्रकाश राईले बताए । राईका अनुसार छात्रहरुको खेल नकआउट तथा छात्राहरुको खेल राउण्ड रोविन प्रणालीमा सम्पन्न गरेको छ । छात्रहरुको फाइनल खेलमा प्रिज्ञा राई सदन विजयी भएको छ भने उपविजेता युनिष भट्टराई. सदन भएको छ । छात्रातर्फ टिम क्यामेलिया विजयी भएको छ भने उपविजेता टिम अर्कीड भएको छ ।

छात्रहरु तर्फ उत्कृष्ट खेलाडीे प्रिजा राई सदनका बिक्रान्त सम्बाहाम्फे घोषित भए । उत्कृष्ट स्कोरर ६५ पोइन्टका साथ प्रिजा राई सदनका विक्रान्त सम्बाहाम्फे घोषित भए । छात्राहरु तर्फ उत्कृष्ट खेलाडी क्यामेलिया टिमकी दृष्टि सम्बाहाम्फे घोषित भइन भने उत्कृष्ट स्कोर क्यामेलिया टिमका दृष्टिले ५६ प्वाइन्टका साथ घोषित भईन । कार्यक्रमका अध्यक्षता विद्यालयका संस्थापक निर्देशक मनोज राईले गरेका थिए । प्रमुख अतिथ्यता पुर्व राजदुत प्रा.डा. नोवल किशोर राईले गरेका थिए । विजेता विद्यार्थीहरुलाई पदक तथा प्रमाणपत्र उक्त कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि तथा संस्थापक प्रिन्सिपल चन्द्रप्रकाश राई लगायतले वितरण गरेका थिए ।