विश्वकप छनोटमा अर्जेन्टिनाले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। शनिबार विहान उरुग्वेको राजधानी मोन्टेभिडोमा भएको खेलमा अर्जेन्टिनाले गरेको एक मात्र गोल निर्णायक भएको थियो।
दक्षिण अमेरिकी छनोटअन्तर्गत आफ्नो १२ औं खेलमा अर्जेन्टिनाले उरुग्वेसँग प्रतिस्पर्धा गरेको थियो। जहाँ उसले आठौं जित निकाल्यो।
छनोटमा ब्राजिल र अर्जेन्टिना अपराजित छन्। ब्राजिल १२ खेलबाट ११ जित र १ बराबरीसहित ३४ अंकका साथ छनोट भइसकेको छ। समान खेलबाट अर्जेन्टिना भने ८ जित र ४ बराबरीका साथमा २८ अंक बनाएको छ। अर्जेन्टिना पनि छनोट नजिक पुगेको छ।
त्यस्तै‚ २० अंकका साथ इक्वेडर तेस्रो र १६ अंकका साथ चिली चौथो स्थानमा छन्। समान १६ अंक भए पनि कोलम्बिया र उरुग्वे क्रमशः पाँचौं र छैटौं स्थानमा छन्।
विश्वकप छनोट सम्भावना कायम राख्न घरेलु मैदानमा उरुग्वेले अर्जेन्टिनाविरुद्ध गोलको प्रयास गरे पनि सफल भएन। यद्यपि‚ अर्जेन्टिनाका लागि भने पाउलो डिबालाको पासमा एन्जल डि मारियाले सातौं मिनेटमा नै गरेको एक मात्र गोल निर्णायक रह्यो। अब आगामी बिहीबार अर्जेन्टिना र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ।