दशैं आफैमा सफा, स्वच्छ, पवित्र र सुन्दर छ । दशैं पर्ने महिना पनि सफा महिना, पवित्र महिनाका रुपमा लिइन्छ । असोज लागेपछि सनातनीहरुको पवित्र पर्वहरुको सुरुआत हुने भएकाले पनि यो महिना सबैतिर सफा र सुग्घर हुन आवश्यक देखिन्छ । नबनेका बाटो बनाउने, भएका बाटोहरु सफा गर्ने काम दशैं, तिहार, छट पर्वका अवसरमा गरिन्छ ।
नेपाली हिन्दुहरुका लागि बडा दसैं एक महान उत्सव नै हो । यसले वर्षौदेखि भौगोलिक दुरीमा बाँचिरहेका घर परिवारका सदस्य, आफन्त, चेलीबेटी सबैजसोसँग भेटघाट सम्बन्ध नविकरण हुन्छ । देशदेखि परदेशबाट समेत मानिसहरु दसैंको भाका राखेर घर आउँछन् । यस पर्वको सामाजिक, साँस्कृतिकलगायत बहुआयामिक अर्थ र महत्व छ । सोह्रश्रद्धा लाग्ने वित्तिकै देखि खास गरेर पहाडी भेगका बासिन्दाले सरसफाई, लिपपोत, दाउराको जोहो, मनोरञ्जनका सामग्री जुटाउने र टोल वा गाउँभरिकालाई सामाजिक अभियानमा जुटाउने माध्यम दशैं बन्दछ । यद्यपि बाटोघाटोको कुरा गर्दा पहाड मात्र नभएर तराईमा बनेका ठूला सडकहरु पनि खाल्डाखुल्डी, ग्राभेल, धुलाम्मे वा हिलाम्मे हुने गरेका कारणले त्यसको जिर्णोदार गर्ने देखि बनाउने र दशैं मान्न आएका आ–आफ्ना स्थानीय निकायका बासिन्दालाई सहज बनाउने जिम्मेवारी र कर्तव्य स्थानीय सरकारको देखिएको छ ।
दमककै कुरा गर्ने हो भने पनि मुख्य सडकदेखि भित्री सडकहरु समेत बनाउनुपर्ने देखिन्छ । कहिँ कालोपत्रे गर्नुपर्ने, कहि खाल्टाखुल्टी पुरेर ग्राभेल गरेर कालोपत्रे गर्दा हुने त कहि ग्राभेल गर्नेपर्ने आवश्यक देखिएको छ । आ–आफ्नो पालिका क्षेत्रभित्रका बाटोहरुको अवस्थाका बारेमा पनि अनुगमन गरेर आवश्यक ठाउँमा काम अगाडि बढाउँदा जनताको मन प्रफुल्लित हुन्थ्यो ।
बडादसैं सन्निकट हुँदा समेत नेपालका सडक पूर्वाधारको अवस्था भने उही पुरानै कन्तबिजोगको अवस्थामा देखिनुले जनताले स्थानीय सरकार भएको महसुस गर्न सक्ने अवस्था रहँदैन ।
दसैं आउँदै गर्दा मौसम घमाइलो हुन्छ । नेपाली मनहरुमा रमाइलो हुन्छ । दुर्भाग्य भन्नुपर्छ, नेपालीहरु अधिक संख्यामा यात्रा गर्ने सडकको दुर्दशा भने अझै सम्म पनि फेरिएको छैन । मुख्य चाडपर्व अगाडि मात्र कर्मकाण्डी हिसाबले सडक मर्मत र खाल्डाखुल्डी पुर्ने काम मात्र हुन्छ । घटस्थापनापछि काठमाडौं उपत्यकाबाट दैनिक १ लाखभन्दा बढी यात्रुले उपत्यका छाड्ने गरेको पाइन्छ । पेसा–व्यवसायका सिलसिलामा उपत्यकामा रहेका मानिस दसैं–तिहारजस्ता चाडबाड मान्न भने थातथलोमै फर्किने गर्छन् ।
यस वर्ष वैशाखयता देशभरि ६ सय १८ भन्दा बढी स्थानका सडकमा समस्या आएको सडक विभागको तथ्यांक छ । यसमध्ये मुख्य राजमार्गमा तत्काल यातायात सुचारु गर्ने काम भए पनि सवारीसाधनको कम चाप भएका धेरै स्थानमा भने अझै पनि पूरै मर्मत हुन सकेको छैन । भौतिक मन्त्रालयका अनुसार एक वर्षमा सडक मर्मत सम्भारमा मात्र ३ अर्ब रुपैयाँ हाराहारी खर्च हुने गरेको छ । अहिले पनि देशभरि ३ सय २९ स्थानमा सडक एकतर्फी चल्ने गरेको विभागको अध्यावधिक विवरणमा उल्लेख छ । दशैंमा जनता सहज आवत–जावत हुने वातावरण मिलाउन देशभरिका स्थानीय सरकारले आ–आफ्नो पालिकाभित्रका जनतालाई असहज भएका बाटाहरुको अनुगमन गर्ने र सक्ने आफैले काम अगाडि बढाउने नसक्नेलाई प्रदेश सरकार वा संघीय सरकारलाई दबाब दिएर जान सकियो भने दशैंमान्नका लागि देश विदेशबाट भेला हुने नेपालीको मन पुलकित हुन्थ्यो कि ? सम्बन्धित निकायको ध्यान जाओस् ।