
इटहरी । सरकारले उदयपुरको बेलका नगरपालिका वडा नं. ५ का ४८ जना भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ। वर्षौंदेखि ऐलानी तथा पर्ती जग्गामा बसोबास गर्दै आएका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई स्थायी जग्गा स्वामित्व प्रदान गर्ने उद्देश्यले सरकारले स्थानीय सरकारको उपस्थितिमा लालपुर्जा वितरण गरेको हो।
वडा नं. ५ को आइतबारेमा आयोजित विशेष कार्यक्रममा लाभग्राहीहरूलाई लालपुर्जा हस्तान्तरण गरिएको हो। जिल्ला भूमि समस्या समाधान समिति उदयपुरका अध्यक्ष कृष्णबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकको सिफारिसका आधारमा ४८ जना भूमिहीनका लागि लालपुर्जा तयार गरिएको थियो।
नेपाल सरकारको भूमि सम्बन्धी आयोग, २०७६ तथा हालको भूमि समस्या समाधान समिति, २०८३ सँगको सम्झौता र समन्वयमा स्थलगत जग्गा नापी कार्य सम्पन्न भएपछि पुर्जा वितरण गरिएको हो। बेलका नगरपालिका वडा नं. ५ बाट सुरु गरिएको नापी कार्यका आधारमा तयार पारिएका प्रमाणपुर्जा प्रमाणित गरी वितरण गर्ने निर्णयअनुसार कार्यक्रम आयोजना गरिएको नगरपालिकाले जनाएको छ।
लालपुर्जा वितरण कार्यक्रममा संघीय संसद् सदस्य पारसमणि गेलाल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा नगर प्रमुख अशोक कार्की, भूमि समस्या समाधान समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, पत्रकार तथा लाभग्राहीहरूको उपस्थिति रहेको थियो।
वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गाको आधिकारिक स्वामित्व प्राप्त भएपछि स्थानीय लाभग्राहीहरूमा खुसीयाली छाएको छ। लालपुर्जा प्राप्तिसँगै उनीहरूको जग्गामाथिको कानुनी अधिकार सुनिश्चित हुनुका साथै सुरक्षित आवास र आर्थिक स्थायित्वको आधारसमेत तयार भएको छ।