दमक/ उचित हेरचाह, स्याहार र सम्मानको आवश्यकता औंल्याउँदै झापाका ज्येष्ठ नागरिकहरुले ३६ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी उत्साहपूर्ण ढं्रगले मनाएका छन् । दमकमा ज्येष्ठका पनि ज्येष्ठ सात जना आमा बुबाहरुलाई नगद सहित ढाका टोपी अविर खादा र सम्मान पत्रले सम्मान गरिएको छ । त्यस क्रममा ज्येष्ठ नागरिक अगुवा, अभियन्ता र सहभागी ज्येष्ठ नागरिकहरुले घरपरिवारमा उचित हेरचाह र स्याहार तथा समाज र राज्यबाट सम्मानका अपेक्षा गरे । उनीहरुले ज्येष्ठ नागरिक मन्त्रालयको नाम हटाएर आपूmहरुलाई अवहेलना गरेको भन्दै वर्तमान सरकारलाई ३० लाख ज्येष्ठ नागरिकहरुको सम्मान र अपनत्व हुनेगरी विगतमा राखिएको ज्येष्ठ नागरिक मन्त्रालयको नाम पुनः कायम गर्नुपर्ने भन्दै माग समेत गरेका छन् ।
झापामा दमक, गौरादह, शिवसताक्षी, कनकाई, वुद्धशान्ति, मेचीनगर लगायतका पालिकाहरुमा यो दिवस मनाइएको छ । प्रत्येक वर्षको अक्टोबर १ तारिखका दिन ज्येष्ठ नागरिकहरुको सुरक्षा, सम्मान र मर्यादित जीवन तथा मानवअधिकारका लागि विश्वभर नै यो दिवस मनाइँदै आएको छ । यसका लागि संयुक्त राष्ट्रसंघले समेत पहलकदमी लिँदै आएको छ । यस वर्षको मूल नारा ‘दीर्घायुको युग ः दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौं’ रहेको थियो । सोही नाराको व्यानरमा विहीबार ज्येष्ठ नागरिक संघ दमक नगर समितिले आफ्नै भवनमा सो दिवस मनाउनुका साथै संघको चौथो वार्षिक साधारण सभा समेत सफलतापूर्वक सम्पन्न गरेको छ ।
साधारण सभाका अवसरमा ७ जना ज्येष्ठ आमा बुबाहरु क्रमशः नारायण बहादुर के.सी., गोमादेवी चुडाल, देवीभक्त अधिकारी, लक्षीमा पौडेल, घनेन्द्र बहादुर खड्का, माधवप्रसाद भट्टराई र टीकाप्रसाद घिमिरेलाई सम्मान गरियो । उनीहरुलाई प्रमुख अतिथि दमक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष धर्मप्रसाद (दीपेश) दाहाल, संघका अध्यक्ष रहेका कार्यक्रमका अध्यक्ष ९२ वर्षीय लक्ष्मीप्रसाद थपलिया, विशेष अतिथि राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रीय सदस्य तथा पत्रकार पंकज दाहाल, अर्का अतिथि कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघका सचिव जयप्रसाद संग्रौला, संघका सल्लाहकार संयोजक रघुनाथ खरेल तथा लेखा समिति संयोजक कृष्णप्रसाद लुईटेल र संघकी उपाध्यक्ष मीनाकुमारी कोइरालाले अविर टीका, खादा, नेपाली ढाका टोपी, सम्मान पत्र, नगद तथा फलफूल दिएर सम्मान गरेका थिए ।
सम्मान पछि प्रमुख अतिथि वडाध्यक्ष दाहालले शुभकामना मन्तव्य राख्दै ज्येष्ठ नागरिकको हेरचाह, स्याहार र सम्मानका लागि काम गर्नु हरेक नयाँ पुस्ताको कर्तव्य हो भन्दै आफू जनप्रतिनिधि भएको हैसियतले त्यसका लागि झनै प्राथमिकता दिएर लागी पर्ने बताए । उनले ज्येष्ठ नागरिकका हरेक सुख दुःखमा साथ दिन सदैव तत्पर रहेको भन्दै संघको कार्यालयमा दिवा सेवामा दिनहुँ आउने बुबा आमाहरुका लागि शौचालयमा कमोटको व्यवस्था गरिदिने प्रष्ट पारे । अर्का विशेष अतिथि राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रीय सदस्य पंकज दाहालले महासंघले ज्येष्ठ नागरिकको हक, हित र अधिकारका लागि वडा देखि केन्द्र सम्म नै आवाज उठाएर विभिन्न ढंगले काम गरिरहेको जानकारी गराए ।
अर्का वक्त कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघका सचिव संग्रौलाले दिवसका दिन मात्र सम्झने तर अरु ३६४ दिन ज्येष्ठ नागरिकको सुख र खुशीका लागि बिर्सने काम कसैले पनि गर्न नहुने धारणा राखे । संघका सल्लाहकार संयोजक खरेलले पनि मन्तव्य राखेको कार्यक्रममा स्वागत मन्तव्य संघकी उपाध्यक्ष मीनाकुमारी कोइराला र कार्यक्रम संचालन सचिव गंगाप्रसाद संग्रौलाले गरेका थिए ।
उता ललितपुरको शंखमूलमा पनि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउतको प्रमुख आतिथ्यतामा ज्येष्ठ नागरिक र युवा विद्यार्थीहरुलाई सहभागी गराइ सचेतना र अन्तरक्रिया गरेर सो दिवस मनाइएको छ । राष्ट्रिय महासंघको कार्यालय भवन ललितपुर शंखमूलमा मनाइएको सो दिवसको कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य महासचिव मोहनलाल श्रेष्ठ र कार्यक्रम संचालन उपाध्यक्ष शारदादेवी चन्दले गरेका थिए । महासंघका सल्लाहकार प्रा.डा. प्रेम शर्मा, महिला मन्त्रालय ज्येष्ठ नागरिक संरक्षण शाखा प्रमुख उपसचिव निर्मला कार्की लगायत रहेका थिए । यो दिवस देशका धेरै जिल्लाहरुमा मनाइएको छ । महासंघले पालिका, जिल्ला र प्रदेश स्तरमा दिवस मनाउन मातहतका संघ महासंघहरुलाई पत्राचार गरेको थियो ।