
दमक । शिखा बचत तथा ऋण सहकारी संस्था लिमिटेड दमक–६, झापाको १५औँ वार्षिक साधारणसभा शनिबार पशुपतिनाथ मन्दिरको सभाहलमा सम्पन्न भएको छ । झापा जिल्ला सहकारी संघका अध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा दमक नगरपालिका वडा नं. ६ का अध्यक्ष टेकबहादुर थापा, झापा जिल्ला सहकारी संघका लेखा सुपरिवेक्षण समिति संयोजक तथा सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चुडामणि ओझा, फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पदम लिम्बू लिङ्देन, संस्थापक अध्यक्ष प्रितम सुब्बा लिङ्देनलगायत विभिन्न सहकारी संस्था, बैंक तथा सामाजिक क्षेत्रका प्रतिनिधिको उपस्थिति थियो ।

सभामा संस्थाका अध्यक्ष तेजकुमार श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा सुपरिवेक्षण समितिका तर्फबाट पनि संस्थाको आर्थिक तथा व्यवस्थापकीय गतिविधिको अनुगमन र समीक्षा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/०८३ मा संस्थाको बचत कारोबार अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा करिब ३० करोड ७५ लाख रुपैयाँ रहेको निक्षेप चालु आर्थिक वर्षमा बढेर करिब ३५ करोड ६ लाख रुपैयाँ पुगेको जनाइएको छ । त्यस्तै, कर्जा लगानीसमेत बढेको प्रतिवेदनमा उल्लेख छ ।
साधारणसभामा उत्कृष्ट कारोबारकर्ता, ज्येष्ठ सदस्य तथा बचतकर्ता र उत्कृष्ट बाल बचतकर्तालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । साथै, संस्थाका उत्कृष्ट कर्मचारीमध्ये एक जनालाई ‘स्टाफ अफ द इयर’ सम्मान प्रदान गरिएको थियो ।
सभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विभिन्न कार्यक्रम तथा प्रस्तावसमेत अघि सारेको छ । संस्थाले सहकारीसम्बन्धी ऐन, नियमावली तथा नियामकीय निर्देशनको पालना गर्दै संस्थालाई थप व्यवस्थित र सदस्यकेन्द्रित बनाउने लक्ष्य लिएको जनाएको छ ।
सभाले शेयर लाभांश, संरक्षित पुँजी फिर्ता कोष तथा कर्मचारी बोनस कोषमा विनियोजित रकम नियमानुसार वितरण गर्ने प्रस्ताव अघि सारेको छ । वार्षिक क्यालेन्डर प्रकाशनलाई निरन्तरता दिने तथा विद्युतीय सवारीसाधन खरिद गर्ने प्रस्तावसमेत साधारणसभामा प्रस्तुत गरिएको थियो ।