दमक/ दमक उद्योग वाणिज्य संघले ३६ औ स्थापना दिवस तथा वार्षिक उत्सवको अवसरमा आगामी भाद्र ५ र ६ गते दुईदिन अन्तर बस्तुगत संघ फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । मंगलबार संघको सभाहलमा आयोजित पत्रकार सम्मेलन मार्फत सो जानकारी गराइएको हो ।
कार्यक्रमको नेपाल उद्योग वाणिज्य महासंघका खेलकुद समिति सभापति कृष्ण कटुवालको प्रमुख आतित्थ्यतामा भाद्र ५ गते विहान ७ः ३० वजे उद्घाटन हुने जनाइएको छ । प्रतियोगितामा अन्तर बस्तुगत संघ अन्तरगतका ११ वटा टिम सहभागी हुने दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईँले जानकारी दिए । प्रतियोगितामा प्रथम पुरस्कार ३३ हजार ३ सय ३३ रुपैयाँ, दोस्रो पुरस्कार २२ हजार २ सय २२ रुपैयाँ र तेस्रो पुरस्कार अर्थात अनुशासित टिमलाई ३ हजार ३ सय ३३ रुपैयाँ वितरण गरिने अध्यक्ष गुरागाईँले बताए ।
ब्यवसायीलाई खेलकुदसँग जोडेर स्वस्थ राखि मनोरञ्जन दिने उद्देश्यले आयोजना गरिएका यस प्रतियोगिताको म्यान अफ दि टुर्नामेन्टलाई २ हजार ५ सय २५ रुपैयाँ, उत्कृष्ट गोलरक्षकलाई २ हजार २ सय २२ रुपैयाँ र प्रत्येक खेलका म्यान अफ दि म्याचलाई ११ सय ११ रुपैयाँका दरले जम्मा १२ हजार २ सय २१ रुपैयाँ वितरण गरिने दमक उद्योग वाणिज्य संघको खेलकुद तथा स्वास्थ्य उपसमितिका संयोजक कृष्णराज दाहालले जानकारी दिए ।
यस खेलमा मुख्य सहयोगी संस्थाहरु एल आर पी सप्लायर्स दमक, सिग्देल डिपार्टमेन्ट स्टोर, दमक ६, आरम्भ कम्प्युटर प्रालि दमक ६, सिद्धार्थ बैंक दमक र त्रिवेणी फुड एण्ड वेभरेज प्रालि इटहरी सुनसरी रहेको जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनको सञ्चालन दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रुवल अधिकारीले गरेका थिए भने उपसमितिका संयोजक कृष्णराज दाहालको अध्यक्षतामा भएको कार्यक्रमको समापन बरिष्ठ उपाध्यक्ष भगवान बस्नेतले गरेका थिए । कार्यक्रममा संघका पूर्व अध्यक्ष विजय बरालसहित संघका कार्यसमिति पदाधिकारी, सदस्यहरु, सल्लाहकार समितिका सदस्यहरु तथा खेलकुद उपसमितिका सदस्यहरुको उपश्थिति रहेको थियो ।