देश–समाज राजनीति समाचार स्थानीय

पूर्वप्रधानमन्त्री भट्टराईसहित ४९ जनाले उम्मेदवारी फिर्ता लिए

दमक । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कुल ३ हजार ४८७ उम्मेदवारमध्ये पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित ४९ जनाले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएको हो ।
पूर्वप्रधानमन्त्री भट्टराईले गोरखा–२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट दिएको उम्मेदवारी फिर्ता लिएका हुन् । उनले फेसबुकमार्फत जनताको आग्रह र दलहरूको सुझावका आधारमा उम्मेदवारी फिर्ता लिएको बताउँदै संसद् बाहिर रहेर पनि जनताको आकांक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै, रुपन्देही–२ बाट उम्मेदवारी दिएकी राप्रपाकी कर्भिका थापाले संविधानको धारा २९१ अनुसार विदेश स्थायी आवास अनुमति (पीआर) अवधि नपुगेको कारण उम्मेदवारी फिर्ता लिएकी छन् । ओखलढुंगाका स्वतन्त्र उम्मेदवार सन्त तामाङ, मनाङका एमालेका पोल्देन छोपाङ गुरुङ र कुवेरसिंह गुरुङ, तथा कालीकोटका नेकपाका जीवन बुढाले समेत उम्मेदवारी फिर्ता लिएका छन् ।
नेकपाका नेता बुढाले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि उम्मेदवारी फिर्ता लिएको जनाइएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पत्रकार सम्मेलनमा बताए अनुसार पाँच उम्मेदवारविरुद्ध दाबी–विरोध परेकोमा एक जनाको उम्मेदवारी खारेज गरिएको छ । उनले देशभर निर्वाचन प्रक्रिया शान्तिपूर्ण रूपमा अघि बढिरहेको र समानुपातिकतर्फका करिब डेढ करोड मतपत्र छापि सकिएको जानकारी दिए । प्रत्यक्षतर्फका उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेपछि मतपत्र डिजाइन गरी छपाइ सुरु गरिने तयारी भइरहेको उनले बताए । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक जनशक्ति र सामग्री सातै प्रदेशमा पठाइसकिएको पनि आयोगले जनाएको छ ।

Author

You may also like