शिक्षा समाचार स्थानीय

‘हजूरआमा र हजूरबुबा’ सिकाउन आवश्यक

मोरङ, ९ फागुन/
जिल्लाको पथरी शनिश्चरे नगर उपप्रमुख देवीमाया काफ्लेले समयको परिवर्तनले मौलिक सांस्कृतिक पहिचान लोप गर्न लागेकोमा चिन्ता व्यक्त गर्दै अव प्रत्येक विद्यालयमा हजूरबुबा हजूरआमा जस्ता नाता सहितका मौलिक जानकारी सिकाउन आवश्यक भइसकेको बताइन् ।
उनले वडा नम्बर १० स्थित अरुणोदय बोर्डिङको २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा प्रमुख अतिथिका रुपमा बोल्दै बालबालिकालाई कितावी शिक्षासँगै सांस्कृतिक तथा व्यवहारिक शिक्षा दिनुपर्नेमा जोड दिइन् । उनले भनिन् ‘अवका नानीले हजूरबुबा हजूरआमा बुझ्न छोडे, अरु हाम्रा धेरै मौलिक कुरा पनि हराउन लाग्यो । त्यस्ता कुरा विद्यालयले सिकाउन जरुरी छ ।’ विद्यालय प्रिन्सिपल शान्ति राईको अध्यक्षताको कार्यक्रममा नर्सरीदेखिका बालकालिकाहरुले गीत, नृत्य सहितका आफ्ना सृजनशील प्रस्तुति प्रस्तुत गरेका थिए । सो अवसरमा त्यहाँ विद्यार्थीले निर्माण गरेका चित्रकलाको पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा १० नम्बर वडाध्यक्ष जीवन खतिवडा सहितको आतिथ्यता रहेको थियो ।
त्यस्तै, वडा नम्बर १ स्थित एभरेष्ट बोर्डिङले पनि ३८ औं स्थापना तथा अभिभावक दिवस मनाएको छ । कार्यक्रममा पथरी शनिश्चरे नगरप्रमुख मोहनप्रसाद तुम्वापोले विद्यालयलाई सृजनशील गतिविधिमा विद्यार्थी सक्रिय बनाउँदै लाने कुरा आजको आवश्यकता भएको जनाए । कार्यक्रममा पूर्व प्रिन्सिपल शान्तिराम तिम्सिना सहितलाई सम्मानित गरिएको छ । विद्यार्थीहरुले नाटक, सांस्कृतिक प्रस्तुति र खेलकुद प्रस्तुत गरेको बोर्डिङका निर्देशक रविन कन्दङ्वाले जनाए ।

Author

You may also like