दमक/ झापाको दमकका तीन स्रष्टाका कृतिमाथि शनिबार एक कार्यक्रम गरी विमर्श गरिएको छ । शिक्षण पेशाबाट निवृत्त जीवन विताइरहेका दमकेली स्रष्टा कमलराज भट्टराईको नियात्रा संग्रह ‘सम्झनाका गोरेटोमा छब्बीस पाइलाहरु’, नारायण प्रसाद शर्मा फुँयालको ‘केही नवीन कृति समीक्षा’ र पदम प्रसाद ओलीको संस्मरणात्मक कृति ‘स्मृतिका ६ थुँगा उपहार’ माथि एक भव्य साहित्यिक कार्यक्रम गरी विमर्श गरिएको हो ।
आयोजक दमक–१ स्थित विद्याशिल्प एकेडेमीको प्राङ्गणमा भएको सो कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. गोविन्दराज भट्टराई रहेका थिए । एक महिनाअघि भारतको मणिपुर साहित्य परिषद्को आयोजनामा भएको साहित्यिक कार्यक्रममा उल्लिखित कृतिहरुको विमोचन गरिएको त्यसअवसरमा जानकारी गराइयो । प्रमुख अतिथि डा. भट्टराईले दमकेली स्रष्टाहरुका कृतिहरु भारतमा विमोचन हुनु र अहिले आफ्नै ठाउँमा आएर विभिन्न साहित्यकारहरुबाट कृतिको महत्व, स्रष्टाहरुको मेहनत र लगनशीलता तथा व्यक्तित्वका बारेमा साहित्य पारखीहरुका बीच चर्चा हुनु खुशीको कुरा भएको बताए । आगामी दिनमा यसरीनै दमकेली तथा नेपाली स्रष्टाहरुका नविन कृतिहरु प्रकाशन भएर पाठकहरु समक्ष पुगुन् भन्ने उनले कामना गरे । कमलराज भट्टराईको कृतिमा साहित्यकार तथा कवि विन्दु दाहाल मूकदर्शकले टिप्पणी गर्दै सो कृतिले कृतिकारका व्यक्तिगत जीवनका विभिन्न कालखण्डका भोगाइहरु, बाल्यकालिन अवस्था, प्रवास यात्रा, नेपाल, भारत र भुटानका विभिन्न ठाउँमा हिंड्दा बस्दा र घुम्दाका कुराहरु, कोरोनाजस्तो २०१० सालमा देखिएको विफरको महामारीको अवस्था, आजभन्दा ५०÷६० वर्षअघिको नेपाल साथै समाजमा रहेका विभिन्न बेथिति विसंगतीहरुका बारेमा अनुभवहरुका कुराहरुलाई समेटिएको र तिनबाट अहिलेको पुस्ताले सिक्न सक्ने प्रकाश पारे । स्रष्टा भट्टराईले पनि आफूले अहिलेसम्मको जीवनकालका अनेकौं घटना परिघटनाहरु र जीवन भोगाईका क्रममा अनुभूत गरेका कुराहरु संगालेर कृति तयार गरेको बताए ।
अर्का स्रष्टा फुँयालको ‘केही नवीन कृति समीक्षा’ माथि विमर्श गर्दै कवि वैदिक अत्रिले सो कृतिमा १५ वटा विभिन्न कृतिहरुमाथि लेखकले समीक्षा गरेको र सो समीक्षा विभिन्न ढंगले सटिक र सान्दर्भिक रहेको चर्चा गरे । कृतिमा प्रा. डा. गोविन्दराज भट्टराईदेखि प्रवासका चर्चित साहित्यकार लील बहादुर क्षेत्रीका चर्चित नाटककका बारेमा समेत समीक्षा समेटिएको छ । फुँयालले विभिन्न उपन्यास, यात्रा संस्मरण, खोज तथा अनुसन्धानमूलक पुस्तक, निबन्ध संग्रह, कविता संग्रह लगायतका साहित्यिक कृतिहरुमाथि न्यायोचित ढंगले समीक्षा गरेको र सोही समीक्षालाई संग्रहका रुपमा प्रकाशनमा ल्याएको पाइएको छ । स्रष्टा फुँयालले जीवनको उत्तराद्र्धमा आएर आफूले पनि केही साहित्यिक देन गर्ने जमर्को गरेको प्रष्ट पारे ।
अर्का स्रष्टा पदम प्रसाद ओलीको ‘स्मृतिका ६ थुँगा उपहार’ सेवानिवृत्त भएको अवस्थामा पनि यात्रा संस्मरणका रुपमा पस्केको र सो कृति आउँदो पुस्ताका लागि प्रेरणादायी भएको दमक बहुमुखी क्याम्पसकी प्राध्यापक प्राध्यापक डा. व्यञ्जना शर्माले टिप्पणी गरिन् । सो कृतिमा पूर्वीेनेपालदेखि भारतको मणिपुरसम्मको यात्रा र अुनभवलाई समेटिएको, त्यसमा प्रकृति प्रेम दर्शाइएको, देश र मानव जीवनप्रति चिन्ता जाहेर गरिएको, बसाई सराईको ठाउँ फेरिए पनि प्रकृया र उद्देश्य उस्तै देखिएको, पहिलेको समय सरल रहेकोमा आधुनिकता र विज्ञानले समस्या निम्त्याएको साथै जीवन दर्शनमा कसैले हार्दैन र कसैलै जित्दैन पनि भन्ने सन्देश सो कृति पढ्दा पाइएको विमर्शकर्ता डा. शर्माले खुलाइन् । स्रष्टा ओलीले भने युवा अवस्थामै गर्नुपर्ने काम आफूले जीवनको उत्तराद्र्धमा आएर गर्नुपरेकोमा ढिलो गरेर भूल गरेको महशूस भएको सुनाए । कार्यक्रममा धुलाबारीको त्रिफला पुस्तकालयका अध्यक्ष प्रेम प्रकाश फलाहारीले शुभकामना मन्तव्य राखेका थिए । प्रा. डा. अञ्जना वस्ती भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा लोकगायक लक्ष्मी प्रसाद खनालले लोकगीत, कविहरु विष्णु न्यौपाने, साङ्सेङ पन्धाक र कवि कृष्ण उदासीले आ–आफ्ना कविता वाचन गरेका थिए । निर्मला भट्टराईले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा साहित्यकारहरु प्रा. मोहन भण्डारी, वरिष्ठ लोकगायक एलपी जोशी, पूर्वाञ्चल विश्वविद्यालयका डिन अनिल पोखरेल, साहित्यकारहरु मेघराज तिम्सिना, खेमलाल पोखरेल, दुर्गादेवी काफ्ले, दमक–१ का वडाध्यक्ष हरिप्रसाद न्यौपाने लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा दमकका स्रष्टा तथा स्थानीय अभिभावकहरुको उपस्थिति रहेको थियो