दमक/ दाहाल प्रतिष्ठानको संचार संवाहकको कम अप विथ १०० अभियान अन्तर्गत घर निर्माणको कार्य गर्दा दुर्घटनामा परी पीडित बनेका मिष्त्री बसन्त दाहाललाई आर्थिक सहयोग गरिएको छ । बिहीबार दमक–५ स्थित उनी भाडामा बसेको घरमै गएर घाइते ३६ वर्षीय दाहाललाई नगद २५ हजार सहयोग गरिएको हो ।
सो सहयोग रकम प्रतिष्ठानको युवा परिचालन महाशाखा अन्तर्गतको मानवीय सहायता कोषबाट प्रदान गरिएको जानकारी गराइएको छ । सो सहयोग रकम दाहाल प्रतिष्ठानका सह–अध्यक्ष दुर्गाप्रसाद दाहाल, वरिष्ठ उपाध्यक्ष कमल प्रसाद दाहाल, उपाध्यक्ष डोयना दाहाल, केन्द्रीय तथा सचिवालय सदस्य गञ्जबहादुर दाहाल, प्रतिष्ठानका दमक नगर समिति अध्यक्ष पारषमणि दाहाल र केन्द्रीय कार्यालय सचिव नारायणचन्द्र दाहालले पीडित दाहाललाई एक संक्षिप्त कार्यक्रमका बीच संयुक्त रुपमा हस्तान्तरण गरे । खोटाङको हलेसी पुख्र्यौली थलो भएका र झापामा जन्म भइ सानै उमेरमा बाबुआमा समेत स्वर्गवास भएका बसन्त लामो समयदेखि दमकमा रहेर घर निर्माण गर्ने मिष्त्रीको काम गर्दै आएका थिए । उनका एक श्रीमती, १ छोरा र १ छोरी रहेका छन् । गत जेठ ११ गते दमककै एक घर निर्माण गर्ने क्रममा माथिल्लो तलाबाट खस्दा ५ सुुते फलामको रडले उनको कोखामा वारपार हुनेगरी छेडेको थियो । त्यसपछि घाइते भएका बसन्तको शुरुमा लाइफ लाइन अस्पताल र त्यसपछि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया भएको थियो । कार्यक्रममा पीडित दाहालले प्रतिष्ठानले गरेको सहयोगका लागि धन्यवाद दिए । पीडित दाहाललाई थप उपचारका लागि सो सहयोग रकम उपलब्ध गराइएको दाहाल प्रतिष्ठानले जनाएको छ ।