समाचार

दुवइमा मृत्युभएका झापाका थापाकाे पाँच महिनापछि अन्त्येष्टि

दमक/ वैदेशिक रोजगारीमा मृत्यु भएका झापाको मेचीनगर वडा नं १० का ४२ वर्षीय रेवत थापाको पाँच महिनापछि बुधबार अन्त्येष्टि गरिएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) को उत्तरी शहर रासअल खेमामा गत जेठ १३ गते उनको हृदयाघातबाट मृत्यु भएको थियो ।

त्यहाँको एक अस्पतालमा लामो अवधिसम्म बेवारिसे रहेको शवको अन्त्येष्टिका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले आर्थिक सङ्कलन गरेका थिए ।

नेपाली समाज युएईको पहलमा मृतकको अन्त्येष्टि गरिएको जनाइएको छ ।

यसका लागि मेचीनगरमा रहेकी उनकी छोरी रीतु र परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले लिखित स्वीकृति दिएको युएईमा रहेका सञ्चारकर्मी रामप्रसाद ढुङ्गानाले जानकारी दिए ।

वैदेशिक रोजगार विभागमा रहेको विवरणअनुसार थापा गत वर्ष २०१९ नोभेम्बर महिनातिर खेमामा रहेको प्रिमियर प्रोजेक्ट म्यानेजमेन्ट कम्पनीमा काम गर्न गएका थिए ।

उनले २०१९ को नोभेम्ब १३ मा ०४५०३३३५० नम्बरको श्रम स्वीकृति लिएका थिए ।

यसैगरी उनले युनियन लाइफ इन्स्योरेन्स कम्पनीबाट ७६७७०२६९८१ नम्बरको बीमा पोलिसी लिएको पाइएको छ ।

बीमाको म्याद ५ अक्टोबर २०२२ सम्म रहेको सञ्चारकर्मी ढुङ्गानाले बताए ।

थापा रास अल खेमाको नखिल भन्ने स्थानमा नेपालीहरुसँग मिलेर कोठा भाडामा बस्नुभएको र उहाँलाई दिउँसो २ बजेतिर कोठामै मृत भेटिएको बताइएको छ ।

नेपालीहरुसँगसँगै बसे पनि साथीलाई उनले आफ्नो घर ठेगानाबारे खुलाउनु भएको थिएन ।

उहाँको राहदानी पनि लामो समय नभेटिँदा शव धेरै दिनसम्म अस्पतालमा बेवारिसे बनेको थियो ।

Author

You may also like