देश–समाज समाचार

दमक नगरपालिकाले कोरोना संक्रमितको जिम्मा लिने, चाडपर्व घरमै मनाउन आग्रह

damak municipality
  • पंकज दाहाल

दमक/ झापाको दमक नगरपालिकाले आफ्नो क्षेत्रभित्र कोरोना संक्रमित हुने सबैको व्यवस्थापनको जिम्मा लिने बताएको छ ।

कोरोना पोजेटिभ देखिने सबैलाई आइसोलेशनमा राख्ने र शंकास्पद विरामीलाई क्वारेन्टिनमा राख्नको लागि आवश्यक व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

यसका साथै नजिकै आउन लागेको बडादशैं आ–आफ्नै ठाउँमा बसेर मान्न पनि अनुरोध गरिएको छ ।

‘हामीले मंगलबार मात्र नगर क्षेत्रभित्रका सरकारी तथा निजी सबै अस्पताललाई बोलाएर बैठक ग¥यौं ।

जसमा ज्वरो आएका विरामीलाई स्वाव संकलन गरी पीसीआर परीक्षणमा पठाउने सहमति भएको छ ।

अन्य किसिमका विरामी आए उपचार सेवा विना हिच्किचाहट गर्ने भन्ने निर्णय पनि भएको छ ।’,

दमक नगरपालिकाकी प्रवक्ता तथा उपप्रमुख गीता अधिकारीले भनिन् ।

‘सबै निजी अस्पतालले कोरोनाको शंका लागेका विरामी बाहेकका विरामीलाई झन्झट नदिइकनै उपचार गर्नेछन् । कोरोनाको शंका लागेका विरामीको पनि पीसीआर परीक्षणका लागि सम्बन्धित प्रयोगशालामा स्वाव पठाउने छन् ।– उनले प्रष्ट पारिन् ।

‘अब यस्तो गुनासो नआओस् । तर कोरोनाको शंका लागेका र संक्रमण पुष्टि भएका सबैको व्यवस्थापन गर्न भने नगरपालिका तयार छ । गरिरहेको पनि छ ।’

नगर प्रवक्ता अधिकारीले भनिन्– त्यसका लागि विभिन्न अस्पताल र ठाउँहरुमा व्यवस्था मिलाइएको छ । हामीले खबर मात्र पाउनु पर्छ । ’

झापामा हाल मेची अस्पताल भद्रपुर र कन्काई माईको कोटी होममा पीसीआर परीक्षण प्रयोगशाला रहेका छन् ।

त्यसकारण आजको भोली नै पीसीआर परीक्षणको रिपोर्ट आउने व्यवस्था मिलाउन पनि कन्काई नगरपालिका र प्रयोगशालाको व्यवस्थापन संग छलफल भइरहेको पनि उनले जानकारी गराइन् ।

यता दमकका निजी अस्पतालहरुले भने प्रति व्यक्ति २ हजार ५ सय लिएर स्वाव संकलन गरी पीसीआर परीक्षण गरिरहेका छन् ।

ति अस्पतालले विराटनगरको नोबेल अस्पताल र विराट मेडिकलमा पठाएर पीसीआर परीक्षण गर्ने गरेको बताइएको छ ।

क्वारेन्टिनको व्यवस्था

दमक नगरपालिकाले वडा नम्वर ९ को रत्न स्मृति भवन, वडा नम्वर १० को विज्ञान पार्क र निजी तर्फ पाथीभरा होटलमा क्वारेन्टिनको व्यवस्था गरेको नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी कुवेर भट्टराईले जानकारी दिए ।

उनका अनुसार बुधबार क्वारेन्टिनमा रत्न स्मृति भवनमा ५ जना र पाथीभरा होटलमा ३ जना रहेका थिए ।

विज्ञान पार्कमा भने बुधबार कोही पनि थिएनन् ।

आम्दा अस्पताल र दमक–४ को दाहाल प्रतिष्ठानमा पनि क्वारेन्टिन र आइसोलेसनको व्यवस्था गरिएको छ ।

उनका अनुसार मंगलबार सम्म दमकका २१५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये ३ जनाको मृत्यु भइसकेको छ ।

४५ जना उपचाररत रहेका छन् भने १६७ जना निको भइसकेका छन् ।

उपचार गर्ने कोही पनि भेन्टिलेटर र आइसीयुमा भने नरहेको उनले बताए ।

हाल आइसोलेशनमा रहेर उपचारमा रहेकाहरुमा मोरङ विराटनगरको न्यूरो अस्पतालमा २ जना, विराट मेडिकल कलेज तथा अस्पतालमा ४ जना र कोशी प्रादेशिक अस्पतालमा १ जना, सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा १ जना र होम आइसोलेशनमा ३७ जना रहेका छन् ।

बेलडाँगीमा आइसोलेशनको तयारी

दमक नगरपालिकाले कोरोना संक्रमितहरुका लागि भुटानी शरणार्थीहरु बसेको बेलडाँगी खाली शिविरमा छुट्टै आइसोलेशनको व्यवस्था गर्न लागेको छ ।

यसको तयारी धमाधम भइरहेको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

आगामी कार्तिकको पहिलो हप्ताभित्र सो आइसोलेशनलाई संचालनमा ल्याउने गरी तयारी भइरहेको स्वास्थ्यकर्मी भट्टराईले बताए ।

आइसोलेशन ३२ बेडको हुने पनि जानकारी दिइएको छ ।

दशैं घरमै मनाउन आग्रह

यसपालीको दशैं नजिकिएको तर कोरोनाको संक्रमण फैलिने डर भएकाले घरमै मनाउन र हिंड्डुल नगर्न दमक नगरपालिकाले सबै नगरवासीहरुमा अनुरोध गरेको छ ।

त्यसका लागि सर्वसाधारणलाई सतर्क गराउन र धेरै जना भेला भएर दशैं नमनाउन अनुरोध गर्दै चाँडैनै प्रचार प्रसारको काम गरिने नगर प्रवक्ता अधिकारीले जानकारी दिइन् ।

कोरोनाको संक्रमण बढिरहेकाले सरकार र नगरपालिकाको अनुरोधलाई सबैले मान्नुपर्ने पनि उनले जनाइन् ।

Author

You may also like