काठमाण्डौं। आजबाट विदेशमा रहेका नेपालीहरु ल्याउन शुरु भएको छ । आज म्यानमारबाट नेपालीहरु लिएर आएको जहाज काठमाडौंमा अवतरण गरिसकेको छ । विहान ९ः५० मा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने भनिएको भएपनि जहाज १०ः४४ मा अवतरण गरेको हो।
उक्त जहाजले म्यानमारमा रोकिएका २६ जना नेपाली नागरिक ल्याएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। सोहि जहाजले नेपालबाट फर्कदा ४३ जना म्यानमारका नागरिक लिएर फर्कने त्रिभुवन विमानस्थल श्रोतले जानकारी दिएको छ ।
त्यस्तै आजै दुबईबाट पनि नेपाली फर्कदै छन्। दुबई सरकारले नै आफ्नो जहाजमा रोजगारका लागि गएका नेपालीहरुलाई फर्काउन लागेको हो। प्राधिकरणका अनुसार आज १६८ नेपाली दुबईबाट आउँदै छन् । यसअघि चीनको वुहानबाट विमान चार्टर गरी नेपाली विद्यार्थी सहित १७५ जना नेपाली नागरिकलाई गत फागुनमा ल्याइएको थियो।