दमक / सरस्वती एक्स– स्टुडेन्ट्स सोसाइटी (सेस) को पहिलो साधारणसभाले रमेश गुरागाईँ अध्यक्ष रहेको कार्य समिति र प्रकाश बस्नेत संयोजक रहेको सल्लाहकार समिति गठन गरेको छ ।
सेस दमक २ स्थित सरस्वती आधारभूत विद्यालयका पूर्व विद्यार्थीहरुको संस्था हो । संस्थाले विद्यालयलाई नमूना बनाउन नगरपालिकासँग सहकार्य गर्दै आएको छ ।
कार्य समितिमा उपाध्यक्ष खेम सापकोटा, सचिव बुद्धि सिग्देल, सहसचिव नरमाया बस्नेत, कोषाध्यक्ष राजु अधिकारी, सदस्यहरु चन्द्रकला दाहाल, टंकनाथ दुलाल, मेघनाथ दुलाल र मेनुका श्रेष्ठ चयन भएका छन् ।
गत वर्ष स्थापित यस संस्थामा हालसम्म तदर्थ समितिले कार्यक्रम राख्दै आएको थियो । समितिको कार्यकाल २ वर्षको हुने समितिका अध्यक्ष गुरागाईंले जानकारी दिए । साधारणसभामा अध्यक्ष रमेश गुरागाईले अहिलेसम्म विद्यालयमा पूर्व विद्यार्थीको पहल र सहभागितामा सम्पन्न कामहरुको प्रगति प्रतिवेदन र आय व्यय विवरण प्रस्तुत गरेका थिए । उनले शिक्षालाई खाना र आवास सहित पूर्ण निःशुल्क नबनाए आगामी दिनमा बूढानिलकण्ठ मोडेलमा सञ्चालन गरिने योजना पेश गरेका छन् ।
सल्लाहकार समितिका संयोजक बस्नेतले जिम्मेवारी ग्रहण गर्दै पूर्व विद्यार्थीको तर्फबाट विद्यालयलाई नमूना बनाउन कुनै कसर बाँकी नराखिने बताउँदै धेरै जनालाई समेट्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि २ नं. वडाअध्यक्ष प्रजापती सापकोटाले आफू समेत यस विद्यालयको पूर्व विद्यार्थी भएको र विद्यालयलाई नमूना बनाउन सुरुदेखि नै वडा समितिले योजना केन्द्रित गरेको बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष टंकप्रसाद गौतमले विद्यालयलाई शैक्षिक र भौतिक दृष्टिकोणले आजको अवस्थासम्म ल्याउन र आकर्षक बनाउन पूर्व विद्यार्थीले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
सोसाइटीले विद्यालयमा क्यान्टिन, सफा शौचालय, बालबालिकाका लागि खेल्ने घर, कम्प्युटर ल्याब, हातधुने ठाउँ व्यवस्थित भइसकेको र पूर्व प्रधानाध्यापकलाई नगदसहित सम्मान गरिएको, जेहेन्दार विद्यार्थीलाई पठनपाठनमा सहयोग गरेको विवरण कार्यक्रममा प्रस्तुत गरेको थियो ।
कार्यक्रमको सञ्चालन बुद्धि सिग्देलले गरेका थिए भने स्वागत मन्तब्य खेम सापकोटाले राखेका थिए ।
पूर्व विद्यार्थी मार्फत् लायन्स क्लबले विद्यालयमा प्रत्यक्ष सहभागिता र लगानीमा विभिन्न काम गर्दै आएको छ । हालसम्म कक्षा कोठामा जिप्सम लगाउने, रंगरोकन, स्वास्थ्य शिविर जस्ता कार्यक्रम सम्पन्न भएका छन् ।