दमक, ८ मंसिर।
जापानमा हालसम्मकै सवैभन्दा ठूलो ढुंगाको बुद्धमूर्ति बनाएर अन्तराष्ट्रिय ख्याती कमाएका मोरङका मञ्जुल मितेरी अव नेपालमा पनि यस्तै ठूलो मूर्ति बनाउने योजनामा छन् ।
उनले केहि दिनअघि आफ्नो फेसबुकमा नेपालमा करीब १ सय फुट अग्लो ढुंगे पहरो खोजौं र विशाल बुद्धमूर्ति बनाऔं भन्ने स्टाटस लेखेका थिए । कडा, धेरै नचर्किएको, धेरै पत्रेदार नभएको, भत्किने जोखिम नभएको, काम गर्दा त्यहाँको वातावरण, पर्यावरणलाई असर नपुग्ने स्थानको पहरो खोजेको जानकारी गराएका थिए । त्यसपछि उनका लागि आआफ्नो ठाउँमा पहरा भएको कुरा पूर्वको ताप्लेजुङ, इलामदेखि सुदूरपश्चिमसम्मका १५ ठाउँबाट पहराको फोटो उनलाई प्राप्त भएको छ । हाल जापानमै रहेका मञ्जुलले फेसबुक कुराकानीमा भने ‘जापानमा आएर ऐतिहासिक काम गरियो भनें नेपालमै पनि त्यसखाले काम गर्ने इच्छा हो । त्यसमा पालिकाहरुकासाथै विभिन्न संघसंस्था र व्यक्तिहरुले इच्छा जाहेर गर्नुभएको छ । अव नेपाल फर्किएपछि अवलोकन गर्दै त्यो काम अघि बढाउने योजनामा छु ।’
जापानको कुमामोतो जिल्लाको खामीआमाकुसा नगरपालिकामा पर्ने सकिबुचोयामा नामको विशाल चट्टानी पहाडमा उनको अगुवाईमा नेपालका मूर्तिकारले ६५ फुट अग्लो मूर्ति तयार भइसकेको छ । ओसिमा सेकिबुचुयामा नामको संस्थाले शहरभन्दा ८० किलोमिटरको दुरीमा ग्रामिण मात्र नभएर अनकन्टार पहाडमा एउटै ढुंगामा गौतम बुद्ध र बुद्धका सहायक देवीदेवताका गरी ७ वटा पूणर्कदको मूर्ति निर्माणको जिम्मा दिएको हो । मूर्तिका काम समेपछि मूर्तिस्थल परिसरलाई थप आकर्षण भर्न पछिल्लो १ वर्षदेखि उनीहरु त्यहाँ खटिएका छन् । ‘साढे सात वर्षको सम्झौता अनुसार मूर्तिको काम १ वर्ष अघि सकियो । परिसरको सजावट चलिरहेको छ । सन् २०२५ मा उद्घाटन् हुनेछ ।’ उनले भने ‘जापानले यसलाई विश्व सम्पदासूचिमा राख्न पहल गरिरहेको छ ।’
जापानमा मूर्ति बनाउने समूहमा मिक्लाजुङकै गणेश राई, रामकुमार राई, सुवास विश्वकर्मा, कानेपोखरीका चतुर राजवंशी र धरानका जीवन पौडेल सहभागि छन् । यसअघिको ३ वर्षसम्म समूहमा काभ्रेका सानुभाई विश्वकर्मा र उदयपुरका रामचन्द्र पण्डित पनि सहभागि बने । सानै उमेरबाट मूर्ति बनाउँदै आएका मिक्लाजुङ गाउँपालिका अन्तर्गत साविकको टाँडीका मितेरीले राष्ट्रलाई उपहार सुम्पिने घोषणा गरेर उर्लाबारीमा विश्वप्रसिद्ध व्यक्तित्वहरुका २ सयवटा ढुंगेमूर्ति बनाएका छन् । उनकी श्रीमती कौशिला राईलाई मूर्ति निर्माणको जिम्मा लगाएर व्यवसायका रुपमा उर्लाबारीमा अगाडि बढिरहेको आफ्नो कलालाई पनि जोगाउँदै जापानसम्म आफ्नो कलाको फैलावट बढाए । २०१७ सेप्टेम्बरदेखि जापानमा बुद्धमूर्ति बनाउने काममा साथीहरु लिएर त्यता लागेका हुन् । उनी कथा, कविता सहितका सृजनामा पनि सर्जक हुन् ।