दमक १२ मंसिर
उनको त्यस्तो केहि सपना थिएन । जीवनको लक्ष्य नै निर्धारण भइसकेको थिएन । विवाह भयो र पारिवारिक जिम्मेबारीमा जीवन अघि बढ्यो ।
सामान्य आर्थिक अवस्थाको परिवारमा कक्षा ११ मा पढ्दै गर्दा विवाह भएपछि उनको जीवनले संघर्षमय दिन सुरु गर्यो । विवाहपछि जीवनको सुखमय दिनको कल्पना गर्दैगर्दा २० बर्ष पनि नपुगेको अवस्थाको बालशुलभ मस्तिष्क रमाउने वातावरण भन्दा पनि घरव्यवहारको गह्रुंगो भारी थाल्न धौ धौ पर्यो । छोराको जन्म भयो र उसको समेत जिम्मेबारी थपिएपछि जीवनको पाठ पढ्ने क्रमले गहनतातिर धकेल्यो ।
खेती किसानी परिवारकी उनको त्यही पेशाको परिवारमा ०६४ सालमा नयाँ जीवन सुरु भयो । तर त्यो लामो समय टिक्न नपाइ अलग अलग अवस्था भयो । त्यसपछि विगत १० बर्षदेखि व्यहोरेको थप एकल संघर्षले मोरङको रतुवामाई ८ इटहरा भौंडाकी सिरु घिमिरेलाई व्यूटिसियन बनाइदियो । ‘साँच्चै जीवन त मैले पछि सिक्न पाएँ । संघर्षले जीवन बुझायो ।’– उनले पूर्वसन्देशसँगको भेटमा गहन मुद्रामा भनिन् ।
संघर्षका क्रममा भौंतारिँदै उनी २ बर्ष दुबईमा रोजगार गर्न पुगिन् । मेहनत गरेर पैसा बचाउन ध्याउन्ते गरिन् । तर स्वास्थ्यले साथ दिएन र फर्किएर आउनु पर्यो । ‘मुटुमा समस्या भएर अपरेशन गरें । अनि पछि फेरि जान खोज्दा अपरेशन् गरेको मान्छे मेडिकलमा फेल हुनेभयो र यतै केहि गर्नुपर्यो भन्ने सोचें र पार्लरतिर प्रवेश गरें ।’– उनले संघर्षका कथाव्यथा सुनाउने क्रममा सुनाइन् ।
सिरुलाई पहिले व्यूटिसियन पेशा मन पर्दैन थियो । तर समय अनुसार त्यहि व्यवसाय निकै चलेको भनें देख्थिन् । ‘अलि उत्ताउलो स्वभाव देखाएर नक्कल झक्कल पार्ने पार्लरको काम हो, बिकृति हुन्छ भन्ने सुनेकोले त्यस्तै छाप परेको थियो ।’ उनी भन्छिन् –‘तर आफु अनुसार हुने र अहिलेको आवश्यकता अनुसार चाहिँदो सौन्दर्य आवश्यक पर्ने रहेछ भन्ने अहिले बुझें ।’
दमकमा सीटीइभीटीमार्फत व्यूटिसिसयन तालिम लिने अवसर पाइन् । लेभल एकसम्मको तालिम लिएपछि आफैं पार्लर नै खोलेर अचलाउन सक्ने आँट आयो । सहकारी संस्थामा २ लाख रुपैयाँ ऋण लिइन् र थालिन व्यूटिपार्लर पसल । विगत ४ बर्षअघि दमक ४ ताराबारी चोक दक्षिणमा ‘श्री व्यूटि पार्लर’ खोलेर आफ्नो खुट्टामा उभिएर हिँड्न उनलाई सहज बन्दै गएको छ । पार्लरमा मिल्दोजुल्दो हुने व्यवसाय कस्मेटिकका सामान पनि राखिन् । दुवैमा गरी ३ लाखको लगानी गरिन् । ध्यान दिएर मेहनत र इमान्दारितापूर्वक काम गरिन् । ‘दुवैखाले चिजले मलाई बजारमा स्थापित हुन मद्धत गर्यो । दशै, तिहार तथा विवाहको समयमा त रातीसम्म भ्याइनभ्याई काम गर्नुपर्छ ।’– उनले संघर्षभित्रको खुसी बताइन् ।
चाडपर्व तथा विवाहको समयमा त दिनमा १५ हजार हाराहारीको कमाइ हुने गरेको छ । अरुबेला १ हजार ५ सयदेखि २ हजार ५ सयसम्म कमिने सुनाइन् । उनको कामको प्रभाव देखेर उनकोमा कृष्णमन्दिर, उर्लाबारी र केहि मात्रामा दमकबाट पनि ग्राहकहरु आउने गर्छन् । उनी अहिले ३२ बर्षकी भइन् । छोरो १५ बर्ष लागे, कक्षा ८ मा पढ्दैछन् । यो अवधिमा आफुले जीवन धेरै बुझ्न र भोग्न पाएको कुरा उनले उपलब्धि मानेकी छन् । ‘सहकारीको ऋण तिरिसकें, केहि पैसा बचत समेत गरेकी छु । छोरालाई पढाउन र व्यवहार धान्न सहजै बनेको छ ।’– भन्छिन् ‘दुःख पर्दा निराश नभई केही गरेरै छाड्ने अठोट गर्नुपर्ने रहेछ । यो समयले सिकाएको पाठ हो ।’