ओमप्रकाश गौतम

जिन्दगी एउटा नटुङ्गिदो यात्रा रहेछ । यसैमा जीवन भुल्दोरहेछ । फुर्सदको समयमा कहाँ जाउँ कता जाउँ, मन चन्चल बन्दो रहेछ । हुन त छुट्टीको समयमा नडुलेको दिनै रहेन बर्सेनी । कहिले भारतको आसाम त कहिले दार्जीलिङ, सिक्किम, गान्तोक सहित कामाख्या मन्दिरसम्मको यात्रै यात्रामा जीवन अहिलेसम्म झुलेकै छ । अर्को अर्थमा भन्नुपर्दा जीवन चर्खा जस्तै घुम्दो रहेछ । त्यही बेला साहित्यिक ब्यक्तित्वहरु सङ्ग लामो बाटो दगुर्ने फुर्सद आफै छुट्टिदो रहेछ । हुन त मेरो जीवनै लेखन र अध्यापनमै यो उमेरसम्म ब्यस्तभै बित्दै गएको छ र म यसैमा खुसी छु । हरेक क्षेत्रका वस्तु यथार्थ कुराहरु कोरेकै छु जुन यथार्थताले भरिएका छन्, सबैलाइ झक्झक्याउन पाएकै छु । हो जीवन यही रहेछ जहाँ आनन्द प्राप्त हुँदोरहेछ । विविधतामा एकता भएको देश, प्रकृतिले भरिपूणर् भएको देश, नदीनाला हिमशृङ्खलाले सिंगारिएको देश, मन्दिरै मन्दिरको देश भनेर चिनिएको हाम्रो देश विश्व मानचित्रमा सानो देश भनेर चिनिएतापनि हामीलाई हाम्रै प्यारो देश नेपालै मनपर्छ । जहाँ कला, भाषा, भेषभुषा, हरेक जातजातीको धर्म र संस्कृति जीवन्त भएर फूलेकै हुनाले पनि हाम्रो देश नेपाल राम्रो छ । यसैमा हामीलाई खुसी लागेरै होला तमाम नेपालीहरु आज हासेका छौँ, दुःखलाई भुलेका छौँ, सुखलाई आत्मसात गरेका छौँ । यही सुखानुभूतिको यात्रा गत कात्तिक १६ गतेका दिन मेरो शिक्षक मित्र तीर्थ ताजपुरिया सर र आफ्नै झापा जिल्लाको १ नम्बर प्रदेशको भद्रपुर नगरपालिका वडा नम्बर २ र ३ मा अवस्थित साविकका दुई पृथ्वीनगर र महेशपुर गाविसको सिमानामै पर्ने ‘किच्चकवध’ भन्ने पर्यटकीय तथा धर्मिक स्थलमा पहिलो पटक पर्यटक बन्ने अवसर मिल्यो । यो अवसर मिलाइदिने प्रबन्ध मेरा अनन्य मित्र तीर्थ ताजपुरिया सरलाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु ।
किच्चकवध यात्रा स्मरणको अनि त्यहाँको धार्मिक र पौराणिक यथार्थता महत्वको । धार्मिक तथा पर्यटकीय क्षेत्र किच्चकवध झापा जिल्लाको सदरमुकाम चन्द्रगढीबाट लगभग १० किलोमिटर दक्षिण देवनीया र मेची नदीको किनारमा पर्दोरहेछ । यसको पुरानो इतिहास केलाउनुपर्दा महाभारतकालिन कथामा आधारित किच्चकवधमा थुप्रै – थुप्रै पुरातात्विक वस्तुहरु त्यहाँ जादा देख्न सकिन्छ । त्यहाँ एउटा षटकोणको आकारमा रहेको आकर्षक पोखरी देख्न सकिन्छ । छेउबाटै देवनीया नदी बगेको छ भने वरिपरि रहेका देवी – देवताका मन्दिर तथा प्रतिमाहरुको कारणले किच्चकवध निकै आकर्षक तथा रमणीय दृश्य देख्न सकिन्छ । महाभारतकालिन कथाको प्रसङ्गसङ्ग जोडिएको किच्चकवध करिब १० बिगाहा क्षेत्रफलमा फैलिएको छ भने यहाँ वरिपरि गहिरो भूभाग रहेको किच्चकवधको १० बिगाहा मध्ये ९० प्रतिशत भाग एउटा अलग्गै क्षेत्र जस्तो बुद्धकालिन गढ जस्तो डाँडाको रुपमा रहेको देखिन्छ । पुरातात्विक विभागको चरण – चरणको उत्खनन गरिएका अन्य स्थानहरु पुनः सुरक्षित रुपमा छोपिएपनि दुई स्थानहरु भने बाहिरबाट हेर्न मिल्ने गरि राखिएको पाइयो । पुरातत्व विभागले किच्चकवधमा पाइएका वस्तुहरुको प्रयोगशाला परीक्षणबाट करिब २२०० बर्ष पुरानो सभ्यता रहेको प्रमाणित भएको कुरा जानकारी समेत भएको छ । यसमा अरु पनि बिशेष कुरा जोडिएर आएका छन् । किच्चकवध क्षेत्रमा पुरातात्विक उत्खनन गर्दा ८ कोठा भएको भवन उतिबेला फेला परेको र त्यसको तल्लो तहमा अर्को छुट्टै भवनको आकृति समेत फेला परेको छ भने सबैभन्दा ठूलो कोठा २२ मिटर लामो छ । किच्चकवधको उत्खनन गर्दा दुई तहमा पुरातात्विक सामग्री फेला परेको कारण त्यहाँ एउटा सभ्यताको विनासपछि अर्को सभ्यताको विकास भएको पाइन्छ । त्यस अघिको उत्खनन कार्यबाट सात मिटर अग्लो १२३ मिटर लामो सुरक्षा पर्खाल सहित महत्वपूणर् पुरातात्विक सामग्रीहरु फेला परेको थियो रे । यस आधारमा सो स्थान दुईहजार वर्ष पुरानो शुङगकुषाण मानिएको छ ।


अब लागौ “किच्चकवध “को नामाकरण कसरी बन्यो भन्नेतर्फ । महाभारतकालमा भीमसेनले किच्चकलाई वध गरेको प्रसङ्ग जोडिन्छ । महाभारतकालिन कथा अनुसार विराट नामका राजा विराटनगरमा राज्य गर्थे रे जसको किच्चक नामको सेनापति थियोे रे । किच्चक विराटको सालो भएपनि शक्तिशाली तर दुराचारी थियो रे । विराट राजाको दरबारमा पाण्डवहरु विभिन्न छदम्भेषी नामले गुप्तवास बस्दा किच्चकको कुदृष्टि द्रौपदीमाथि परेछ । त्यसबाट द्रौपदीलाइ जोगाउन पाँच पाण्डव मध्येको सबैभन्दा बलशाली भीमसेन किच्चकसङ्ग भिड्न कस्सिएछन र भीमसेनले किच्चकको वध गर्न उसलाई खेदन थालेछन् । यसरी खेद्दै जाँदा अर्जुनधाराधाम, विराटपोखर हुँदै किच्चक वधमा पुग्दा भीमसेनले किच्चकको घाँटी थिचेर मारेछन र त्यसै स्थानलाई किच्चकवध भनिएको हो भन्ने किम्बदन्ती पाइन्छ । भीमसेनले किच्चकको वध गर्न साथै सोही रगत पखाल्ने उनले हानेको बाणले जुन ठाउँमा लाग्यो त्यही स्थानमा पोखरी स्थापना भयो भन्ने किम्बदन्ती रहेको छ । त्यसै नजिक रहेको सो पोखरीमा नुहाएमा रोग ब्याधाबाट बच्न सकिन्छ भन्ने जनविश्वास रहेको पाइन्छ ।
अन्त्यमा, यसको महत्वमाथि प्रकाशपार्नु पर्दा – “ हिन्दु धर्मको महानग्रन्थ महाभारतमा उल्लेखित प्रसङ्गसङ्ग जोडिएको कारणले नै यो धार्मिक रूपमा अत्यन्त महत्वपूणर् रहेको छ । झापा जिल्लामा मात्र नभएर अरु जिल्लाका जनहरुलाई यहाँ पुग्नका निम्ति कुनै अप्ठ्यारो महसुसै हुन्न । सजिलै पुग्न सकिन्छ, अध्ययन अवलोकन गर्न सकिन्छ । यो धार्मिक आस्थाको केन्द्र रहेको स्थलमा विशेषत ः स्वस्थानी पूणर्िमाको दिन मेला लाग्ने गर्दछ । सो मेलामा टाढाटाढाबाट भक्तजन र मेला हेर्न आउनेहरुको घुँइचो लाग्छ । यहाँ मेलाको अघिल्लो दिन सम्पूणर् सामग्री सहित आउने मेलाको दिन पोखरीमा स्नानसँगै किच्चकको श्राद्द गरि जाने विशेष समुदायको उपस्थिति रोचक रहेको छ । यस परिसरको पूर्वपट्टि बिष्णुपादुका तथा मातातीर्थ मन्दिरको निर्माण गरिएको छ । पितृ श्राद्दका लागि निर्माण गरिएको यो मन्दिरका कारणले किच्चकवधको महत्व बढदै गएको छ । यसरी नै बालाचतुर्दशीका दिनमा सत्विज छर्नका लागि समेत यो प्रख्यात हुँदै गइरहेको छ । नदीको किनार भएकोले छठ पर्व पनि किच्चकवधको विशेष आकर्षणको रुपमा अघि बढेको छ । तर राम्रा र नराम्रा पक्षको रूपमा यो कलमीले निष्पक्ष रूपमा हेर्दा त्यहाँ के देख्यो भने दैनिकी रुपमा सरसफाइ तथा फोहोरमैला ब्यबस्थापन नभएको, पुराना इँटाहरु जसलाइ राम्ररी ब्यबस्थापन नगरिएको, दुर्लभ इँटाहरुको छेउछाउमा झारपात झाङ्गिएका । इँटानै पोचिदैगएको हुनाले पनि यसलाई अझै बढी संरक्षण सरसफाइ गर्नु जरुरी छ । किच्चकवध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिले बाल उधान प्रवेश शुल्क वापत सबैलाई रुपैयाँ ३० लिएर प्रवेश गर्न दिएतापनि भित्र फोहोर देखिएको हुनाले पनि आगामी दिनमा अझै ब्यबस्थित रुपले संचालन गर्नका निम्ति र अवलोकन भ्रमण अनि वनभोजका लागि राम्रो प्रवन्धका निमित्त सरोकारवाला निकाय र संरक्षण समिति अघि बढ्न सके ‘किच्चकवध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल’ एउटा महत्वपूणर् प्रमुख धार्मिक स्थल बन्ने छ ।

omgautam497@gmail.com

Author

You may also like