लेख विचार/वहस

आँख्ला, देश र अग्रगामी लात्ती

==== अग्रगामी लात्ती भाइरल भएको छ हिजो आज । त्यसो त यो मुलुकमा अग्रगामीहरुकै चर्चा हुन्छ । सिडियो कुट्नेदेखि एलडिओलाई ट्वाइलेटमा थुन्नेहरुकै चर्चा हुन्छ । तर ती कुटिने र थुनिनेको चर्चा कहिल्यै हुँदैन । विध्वंसको बाटो नै यो समयको अग्रगमनको बाटो बनेको छ । तर बाँच्नका लागि लडनेहरुको कथा कमै लेखिन्छ । आँख्ला कुहिएर, मुन्टा नपलाउने र पलाई हाले पनि निमोठ्न आनन्द मान्ने समयको रंग हो यो । ====

बाँस्कोटा धनञ्जय

देशको काननको ब्याख्या गर्ने र न्याय दिलाउनेको मुखबाट न्यायको माग राजासंग किन भयो ? न्यायालय, न्यायाधीश, कानन, काननी परमार्शदाता र संविधान सबै सकिएको समय हो अहिले ?
नेपाल बार एशोसिएसनको परिसरमा कालो कोटेहरुको लात्ती प्रतियोगिता २०७८ कार्तिक १२ गते सम्पन्न भयो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले राजीनामा दिनु पर्छ कि पर्दैन भन्ने कुरामा विवाद भएर ‘प्रधानन्यायाधीश चोलेन्द्र शमसेरले राजीनामा दिनु पर्छ’ भन्ने अग्रगामी लात्तीले ‘चोलेन्द्रले राजीनामा दिनु हुन्न भन्ने’ प्रतिगामीलाई हानेको दृष्य निकै भाइरल भयो ।

अनि ती लात्ती खाने क्यामराका अगाडि रुँदै पनि थिए । प्रतिगामी रोएको समय हो यो रेन्त ! अनि मुखभरी फिँज काढ्दै, मुखका दुवै पट्टी कुन्नी केका सेता ‘छोक्रा’ निकाल्दै जोशमा भकुर्ने अग्रगामीको मृत्युञ्जयको समय हो रेन्त नि यो !!

साउथ इन्डीयन सिनेमाको मज्जा र आनन्दमा मैले थियोडोर रोथिकीको दुःख र वीभत्सताको कविता ‘रुट सेलर’ (भुइँतलामुनिको सब्जी गोदाम) पढ्न थालें । दुःखमा आनन्दको सिनेमा हेर्नु भनेको अनैतिक होइन ? अनैतिक हो । तर त्यो नैतिक बन्न पुग्यो ।

कविता यस्तो छः

अन्डरग्राउण्ड ओसिलो गोदाममा जराबुटाहरु गोदाम गरिएका छन् । ती आलु, गाजर, मूला, टमाटर, प्याज, आदि आँख्ला भएका र तिनै आँख्लाबाट टुसा आउने अन्न, तरकारी र फलफूलका प्रजाति छन् । तिनका जरा छन् टुसाउने । तर ती अनिँदो छन् । निष्कृय छन् । तर सन्तान उत्पादन गर्न आँख्लाबाट टुसा निकाल्न संघर्षरत छन् । त्यही भएर आँख्लाबाट टुसा निकाल्न पोटी फुटाउँदै, प्वाल पार्दै, आफैलाई चाहिने शक्ति आफै उत्सर्जन गर्दै, आफ्नो बाटो आफै तय गर्दै बाहिर निस्किन लालायित छन् । अनि तिनका मुन्टा निस्किन्छन् र बास्केटभरी फैलिन्छन्, बास्केट बाहिर झुण्डिन्छन् सर्प जस्तै । तर बट्टामा खाँदाखाँद कोचेर हालिएका उक्त ती बबुरा कलिला मुण्टाहरु त्यो ह्वास्स गन्हाउने उकुसमुकुसमा पनि मर्न इन्कार गरिरहेका छन् । ती बाँच्ने प्रयत्नमा छन् । ती बाँच्न चाहन्छन् ।  बस, कविता यत्ति हो ।

यो कविताको भाव के हो त ?

ती बबुरा टुसाहरु त्यो प्रतिकूल र ज्यानमारा वातावरणमा पनि बाँचिरहेछन्, बाँच्नलाई संघर्ष गरिरहेछन् र नयाँ पुस्ताको जन्म गराइरहेछन् । जीवन जिउनु भनेकै संघर्ष गरेर पार लगाउनु रहेछ । तिमीलाई बाँच्न र बचाउन भनेर कसैले पनि रातो कार्पेट बिछ्याइदिँदैन । आफै उत्रिनु पर्छ । र, सामना गर्नुपर्छ यो प्रतिकूल समयसंग । आफैलाई जिउन कति गाह्रो छ, झन् अब जन्मिने सन्तानलाई झन् कति गाह्रो हुने छ । टुसाउने बनाउन गाह्रो । मुन्टा निकाल्न गाह्रो । अनि त्यसलाई पनि पार लगाएपछि पनि ती मुन्टालाई जोगाउन गाह्रो । यसरी बार बार बाँचेर तिनको जीवन चक्र चल्छ । बाँच्न गरिने संघर्ष नै उत्सव रहेछ ; युद्ध, इष्र्या, भेदभाव, आर्थिक अभाव, धार्मिक र राजनीतिक आन्दोलन, संकटमा परेका प्रजातिहरु सबै अस्तित्व रक्षाको लागि लडिरहेका छन् । उम्रिन खोज्नेहरुको हविगत यस्तै हुन्छ, यही भन्छ यो कविताले ।

आज म यही कविताको बिम्बमा यो देश पढिरहको छु । गमिरहेको छु । कुटाइ खाने कालो कोटे तिनै भुइँतलामुनि थुपारिएका जरा रहेछन्, बाहिर निस्किन खोज्ने तर दमन खेपिरहनु पर्ने, उत्पीडन सहिरहनु पर्ने, थिचाइ खाइरहनु पर्ने, मुन्टो उठाउन कहीं कसैले पनि नदिने । सँधै पाइतालामुनिको धुलो हुनुपर्ने । तिनलाई लाग्न सक्छ लोकतन्त्र छ, तर बोल्न पाइन्न । तिनलाई लाग्न सक्छ संविधान छ, तर न्याय बजारको चाउचाउ भएको भएको छ, मोलमा बिकिरहेको छ, तिनलाई लाग्न सक्छ, यो त ‘उन्नत’ संविधान हो, तर फरक विचार राख्नेहरुलाई ठाउँ छैन । जसले आवाज र शिर उठाउन खोज्छन्, ती प्रतिगामी हुन् । ती गाजरका टुसा प्रतिगामी हुन् । आलु र प्याजका टुसा प्रतिगामी हुन् । किनभने तिनले बाहिर निस्किने प्रयास गरे । सन्तान बढाउने प्रयास गरे । यो संसारमा आप्नो पनि स्थान छ भनेर हक खोज्न आउने प्रयास गरे । यो पृथ्वीतलको स्वामित्व खोजे । पहिचान खोजे । त्यो भन्दा ठूलो कुरा अस्तित्व खोजे । स्वत्व खोजे । आकाशको हक पनि खोजे । धरतीको बास पनि खोजे, पानी र हावाको पनि हक खोजे । त्यसैले ती टुसाहरु प्रतिगामी हुन् । तिनलाई मज्जाले लात्तले हान्दा हुन्छ । त्यही भएर नेउपाने काकाको लात्ती चुडाल भतिजले खाए ।

उम्रिन खोज्नेहरुको, उमार्न खोज्नेहरुको अनि उम्रिसकेकाहरुको जीवन लीला संकटमा छ । यसको मतलव हो, हिजो पनि जिउन सजिलो थिएन । आज पनि छैन र भोलि पनि हुनेछैन ।

मैले ती ‘अग्रगामी’ लात्ती खाने चुडाल भतिजलाई अन्डरग्राउन्ड तलामा गोदाम गरेर टुसाउन र बढ्न नदिने परिवेशको आलु, प्याज र टमाटरको मुन्टा देखें । ती रुँदै थिए । कराउँदै थिए । गुहार्दै थिए । अलाप र बिलाप गर्दै थिए । तिनका आँखाको आँसुको हिसाव समयले राखिरहेको थियो ।

तिनका मुहारमा आक्रोश मात्रै थिएन, लाचारीपन पनि थियो । उनका परिवारमा कसरी मुख देखाउनु ? कुटाइ खाएर आएको बाबुलाई छोराछोरीले के सम्झे होलान् ? श्रीमतीले के सम्झिन होला ? अनि उनलाई कति आत्मग्लानी भयो होला  ? आफैप्रति कति घृणा लाग्यो होला ? कति अफसोस् भयो होला, आप्mनै जिन्दगीका आयामहरुबाट ? एउटा श्रमजीवीले बाँच्न यसरी नै लात्ती खानु पर्ने हो र ? अनि त्यो उत्पीडनको आवाजले राजा आउ भन्नु, गुहार माग्नु कुनै अनौठो पनि भएन । आफन्तले के भने होला ? यो जमानामा पनि ढुङ्गे युगका मान्छे । कालो कोट लगाएर निरीहमाथि भौतिक आक्रमण गर्नेहरुलाई यो सभ्यताले कसरी सुन्दर मान्ने ?

अग्रगामी लात्ती भाइरल भएको छ हिजो आज । त्यसो त यो मुलुकमा अग्रगामीहरुकै चर्चा हुन्छ । सिडियो कुट्नेदेखि एलडिओलाई ट्वाइलेटमा थुन्नेहरुकै चर्चा हुन्छ । तर ती कुटिने र थुनिनेको चर्चा कहिल्यै हुँदैन । विध्वंसको बाटो नै यो समयको अग्रगमनको बाटो बनेको छ । तर बाँच्नका लागि लडनेहरुको कथा कमै लेखिन्छ । आँख्ला कुहिएर, मुन्टा नपलाउने र पलाई हाले पनि निमोठ्न आनन्द मान्ने समयको रंग हो यो । उनले आप्ना आँख्ला टाल्ने र मुन्टा निमोठनेबाट बच्न अन्तिम उपाय राजसंस्था देखे । धेरै मानिहरु यही भनि पनि राखेका छन् ।

के नेपालीहरु ती बिरुवाका मुन्टा जस्तै असुरक्षित भए त अब ?

नेपालीहरुले आत्मरक्षाका लागि यसरी नै गुहार माग्नु पर्ने हो त ?

तिनका आँसुको कथामा राजाको जन्म किन भयो त ?

दुःख, भ्रष्टाचार, कालोबजारी, सिण्डिकेट, राजनैतिक अपराधीकरण, समाजको बिखण्डन, गाली गलौजको सभ्यता, महंगी जस्ता कुरुप विषयहरुले मोसो दलेको यो समयमा देशको कानूनको ब्याख्या गर्ने र न्याय दिलाउनेको मुखबाट न्यायको माग राजासंग किन भयो ? न्यायालय, न्यायाधीश, कानून, संविधान सबै सकिएको समय हो अहिले ? यसको उत्तर कसैसंग छ जस्तो लागेन ।

 

 

 

 

 

 

 

 

 

You may also like