दमक / प्रधानमन्त्री शेरबहादुर देउवाले ढिलोगरी पाँच दलीय गठबन्धनका चार दललाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार नै राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण पनि गराएका छन् । यसअघि कायम ७ सदस्यीय मन्त्रिमण्डललाई विस्तार गरी २५ सदस्यीय बनाइएको छ । अब भने सरकारमा राष्ट्रिय जनमोर्चा बाहेकका चार दलबाट मन्त्रीहरुको सहभागिता देखिएको छ । देउवा सरकार बनेको ८८ औं दिनमा यो सरकारकाले पूर्णता पाएको हो । सरकार विस्तारमा झण्डै तीन महिना ढिलो गरेकोमा देउवा सरकारको आलोचना हुँदै आएको थियो ।
प्रम देउवाले स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीकै रुपमा तानेका छन् । देउवाले काँग्रेसबाट हाल कानुनमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि, दिलेन्द्र बडुलाई कानुन न्याय तथा संसदीय मामिला, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मिनेन्द्र रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन् । देउवाको सचिवालयका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र बहादुर हमाललाई दिइएको छ ।
काँग्रेसबाट यसअघि बालकृष्ण खाँण गृह, डा. नारायण खड्का परराष्ट्र मन्त्री भइसकेका छन् । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) बाट रेणु यादव भौतिक पूर्वाधार तथा यातायात मन्त्री, राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रामसहाय यादव वन तथा वातावरण मन्त्री र प्रमोद साह कृषि तथा पशुपन्छी विकास मन्त्री नियुक्त भएका छन् । नेकपा एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा विरोध खतिवडाले पाएका छन् । स्वास्थ्य राज्यमन्त्रीमा समाजवादीकै भवानीप्रसाद खापुङ नियुक्त भएका छन् । रामकुमारी झाँक्री सहरी विकास मन्त्री, कृष्णकुमार श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, प्रेम आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका छन् । देउवाले माओवादी केन्द्रका देवेन्द्र पौडेललाई शिक्षा विज्ञान तथा प्रविधि, शशी श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् । माओवादीबाट यसअघि अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुषाल छन् । नविनियुक्त मन्त्रीहरुलाई शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट र राज्यमन्त्रीहरुलाई राष्ट्रपतिको उपस्थितिमा प्रम देउवाबाट शपथ ग्रहण गराइयो । काँग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट डा. मिनेन्द्र रिजाल र दिलेन्द्र प्रसाद बडूले ठाउँ पाएका छन् ।
यस्तो छ वरियता
प्रम देउवाले शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिँदा कार्यविभाजन र वरियता समेत छुट्याएका छन् । गठबन्धनको देउवा सरकारमा प्रधानमन्त्री देउवापछि गृहमन्त्री बालकृष्ण खाँण दोस्रो नम्बरमा छन् । त्यस्तै वरियताको तेस्रो नम्बरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् भने उर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्री रहेकी माओवादी केन्द्रकी पम्फा भुषाल वरियताको चौथो.नम्बरमा रहेकी छन् । भुषाल माओवादी केन्द्रको नेतृत्व गर्दै सरकारमा गएकी हुन् ।
त्यस्तै पाँचौ नम्बरमा रहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले जनता समाजवादीको तर्फबाट सरकारमा नेतृत्व गरेका छन् । छैठौं नम्बरमा नेकपा एकीकृत समाजवादीको तर्फबाट सरकारको नेतृत्व गर्दै विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् । अर्थमन्त्री जनार्दन शर्मा बरियताको सात नम्बरमा परेका छन् ।
तीन राज्यमन्त्रीको नियुक्ति
प्रम देउवाले गठबन्धन घटकलाई समेट्दै मन्त्रिपरिषदलाई पूर्णता दिँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राज्यमन्त्रीको व्यवस्था गरेका छन् । तीन राज्यमन्त्रीमध्ये उमेश श्रेष्ठले मन्त्रिपरिषद्को कार्यालय, भवानीप्रसाद खापुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बोधमायाकुमारी यादवले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् । दलगत हिसाबले काँग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले एक–एक राज्यमन्त्री पाएका हुन् ।