शिक्षा

शरणार्थी बालबालिका नेपालका सामुदायिक स्कूलमा

दमक/ दमक–३ को ढुकुरपानी माविका २०७४, ०७५ र ०७६ सालमा क्रमशः ६८, ६० र ५२ जना शरणार्थी विद्यार्थी भर्ना भए । आगामी वर्ष ४ सय ३५ जना थप आउने जानकारी आएको छ । यस्तै यसै वडाको चुलाचुली आधारभूत विद्यालयमा पनि आगामी शैक्षिक शत्रबाट सोही हाराहारीमा विद्यार्थी भर्ना हुँदै छन् ।
भुटानी शरणार्थीहरूको सङ्ख्या घटेसँगै सन् २०२० बाट दातृसंस्थाहरूले हात झिक्दैछन् । तर विद्यालय बन्द हुने क्रम तीन वर्षअघि नै सुरु भएको हो । आगामी वर्षबाट दमकस्थित बेलडाँगीमा रहेको पञ्चावटी विद्यालय पनि बन्द हुने भएकाले त्यहाँका विद्यार्थीमध्ये ४ सय २३ विद्यार्थी चुलाचुली आधारभूत र बाँकी ढुकुरपानी मावि जाने भएका छन् ।
तर यसका लागि यी दुई विद्यालयमा एक÷एक भवन थपिनुबाहेकको केही तयारी छैन । चुलाचुली आधारभूतका प्रअ विष्णु गुरागार्इं भन्छन्, ‘हामीले थप हुने विद्यार्थीका लागि भवन, फर्निचर र १२ जना थप शिक्षक चाहिन्छ भनेका थियौँ तर युएनएचसीआरका प्रतिनिधिले शिक्षकको व्यवस्था हामीले गर्न मिल्दैन बाँकी सहयोग गछौँ भने । आगामी वर्ष विद्यार्थी थपिने टुङ्गो भए पनि शिक्षक थपिने केही टुङ्गो छैन ।’ समस्या शिक्षकको मात्रै होइन, यस विद्यालयमा कक्षा ३ सम्म मात्र अङ्ग्रेजी माध्यमबाट पढाइ हुन्छ । तर शरणार्थी सबै विद्यार्थीको जग भनेको अङ्ग्रेजी माध्यमको छ । थपिने शिक्षक अङ्ग्रेजी माध्यमबाट पढाउन सक्ने पनि हुन जरुरी छ भने अहिलेकै विद्यार्थीका लागि पर्याप्त खानेपानी खेल्न चौर नभइरहेका बेला यी विषयमा पनि समस्या थपिने निश्चित छ । तर यसका लागि केही तयारी नै छैन । ढुकुरपानी माविको अवस्था पनि यही छ । विद्यालयका प्रअ कृष्णप्रसाद भण्डारीले भने, ‘मानवीयताका दृष्टिकोणबाट पनि हामीले पढाउनु पर्ने अवस्था आयो, हामीले पढाउन पनि थाल्यौँ तर अब त शिविरमा कुनै स्कुल नै रहँदैनन् । सबै जिम्मेवारी हामीमा आउँछ । यस्तो अवस्थामा हामीलाई भवनमात्रै होइन सबैभन्दा ठुलो कुरा त शिक्षकको अभाव रहन्छ । विद्यार्थी चापाचाप हुन्छन् । मैदान साँगुरो हुन्छ । खानेपानी, शौचालय सारा कुरामा समस्या हुन्छ । तर यसबारेमा हामीलाई कुनै ठोस योजना बताइएको छैन ।’ फरक पृष्ठभूमिका विद्यार्थी थपिए पछि विद्यालयमा भएका र आउने विद्यार्थीमा पर्ने मनोवैज्ञाविनक प्रभाव व्यवस्थापन पनि चुनौती बनिरहेको छ । आगामी वर्ष थप विद्यार्थी थपिएपछि पूर्वाधारतर्फ प्रयोगशाला, क्यान्टिन, खेलमैदान, खेल सामग्री लगायतको व्यवस्थापन पनि चुनौती बन्ने उनले बताए ।
विद्यार्थी कसको जिम्मा ?
भुटानी शरणार्थी शिविरका विद्यालयहरू धमाधम बन्द भएर विद्यार्थीहरू सामुदायिक विद्यालयमा आइरहेका छन् । आगामी शैक्षिक शत्रदेखि त भएको एउटा विद्यालय पनि बन्द हुँदै छ । अब उनीहरूको जिम्मा कसको हुने ? यसको उत्तर न सङ्घीय सरकारसँग छ, न स्थानीय सरकारसँग । दातृनिकायले त सहयोग नै बन्द गरेपछि उसले जिम्मा लिने कुरै भएन । सङ्घीय सरकारको प्रतिनिधि कार्यालयको रुपमा रहेको शरणार्थी समन्वय एकाइ, झापाले पनि शरणार्थी बालबालिकाको जिम्मा कसले लिने भन्ने बारेमा निर्णय भइनसकेको जनाएको छ । एकाइका निर्देशक समेत रहेका झापाका प्रमुख जिल्ला अधिकारी उदय राना मगरले यो विषयमा अध्ययन भइरहेको जनाए । उनले भने, ‘यो विषयमा के गर्ने भन्नेबारे हामीले मात्र भनेर हुँदैन, केही समय भित्रमा निर्णय होला भन्ने लागेको छ, हामी अध्ययनकै क्रममा छौँ ।’ शरणार्थीहरूलाई संरक्षण गर्दै आएको झापाको दमक र मोरङको पथरीशनिश्चरे नगरपालिकाले पनि शिविरका विद्यालय बन्द भएपछि उनीहरूको जिम्मा नगरपालिकाले लिने कुनै निर्णय गरेको छैनन् ।
गृहमन्त्रालय र शिक्षा मन्त्रालय बीच समन्वय भएर यस बारेमा निर्णय हुने भन्दै दमक नगरपालिकाका शिक्षा शाखा प्रमुख, उपसचिव दिनेशकुमार न्यौपानेले भने, ‘दाताले सहयोग बन्द गरेपछि सबै जिम्मा नै नगरपालिकाले लियो भन्ने ढङ्गबाट पनि कुरा भएको सुनिन्छ तर यो होइन । मानवीयताका हिसाबले पनि उनीहरूको संरक्षणका लागि संयुक्त पहल गर्ने भन्ने कुराचाँहि भएको हो ।’ दाताहरूले सहयोग बन्द गरेपछि बाँकी रहेका शरणार्थी विद्यार्थीहरू अध्ययन् गरुन्जेल सम्मका लागि लाग्ने खर्च शिक्षा मन्त्रालयमार्फत उपलब्ध गराउनेबारे मौखिक आश्वासन पाएको तर औपचारिक रुपमा निर्णय नभएको उनले जनाए । दमक नगरपालिका शिक्षा समिति अध्यक्षसमेत रहेकी उपप्रमुख गीता अधिकारीले नेपाली भूमिमा जन्मिएका जो कसैलाई पनि बिना विभेद शिक्षा पाउने अधिकार भएकाले शरणार्थी बालबालिकालाई नगरका विद्यालयहरूले पढाइरहेको बताइन् । तर उनीहरूको बाँकी जीवनको सुरक्षा र संरक्षणका सम्बन्धमा भने नेपाल सरकारबाटै निर्णय हुनु पर्ने उनी बताउँछिन् । नगरप्रमुख रोमनाथ ओलीले समेत यस विषयमा सङ्घीय सरकारका सरोकारवाला मन्त्रालयहरूसँग कुरा भइरहेको जनाएका छन् । पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले पनि बाँकी शरणार्थी कसको जिम्ममा रहने भन्ने केही टुङ्गो नभएको र स्थानीय सरकारले यसको निर्णय पनि गर्न नसक्ने बताएका छन् ।
पूर्वाधारमा सहयोग
शरणार्थी विद्यार्थीहरूको जिम्मेवारी लिइदिए बापत संयुक्त राष्ट्र सङ्घीय शरणार्थी उच्चायोग मार्फत सम्बन्धित विद्यालयहरूलाई भौतिक पूर्वाधारमा सहयोग प्रदान गरिएको छ । हुन त, यसअघि शरणार्थी बालबालिका नपढाएकै बेला पनि प्रभावित क्षेत्रका विद्यालयले यस्ता सुविधा पाउँदै आएका थिए । शरणार्थी विद्यार्थीसमेत पढाउनु पर्ने भएपछि दमक–३ को ढुकुरपानी माविमा १ करोड ३५ लाख रुपैयाँको भवन निर्माण भइरहेको छ । ८ कोठाको दुइतले भवन विद्यालयका लागि निर्माणको अवस्थामा रहेको प्रअ कृष्ण भण्डारीले
जानकारी दिए ।
यस्तै आगामी शैक्षिक शत्रदेखि ४ सय २३ जना विद्यार्थी सोही वडाको चुलाचुली आधारभूत विद्यालयमा जाँदै छन् । थपिने शरणार्थी विद्यार्थीको सङ्ख्या हाल विद्यालयमा पढिरहेका विद्यार्थीहरू भन्दा झन्डै दोब्बर हो । कक्षा ८ सम्म अध्ययन हुने यस विद्यालयमा हाल २ सय २२ जना विद्यार्थी रहेको प्रअ विष्णु गुरागार्इंले जानकारी दिए । यस विद्यालयले शरणार्थी विद्यार्थीहरू पढाइदिने भएपछि ६८ लाख रुपैयाँको भवन उपहार स्वरुप पाउन लागेको हो । गुरागार्इंले भने, ‘यसअघि पनि भवन, खानेपानी लगायतमा शरणार्थी सम्बद्ध दातृ निकायबाट सहयोग भएको थियो, बाँकी विद्यार्थी सबै पढाइदिनु पर्ने भएपछि एउटा भवन पुनः थपिएको हो ।’

You may also like