दमक/ यस वर्षको तिहार आज शनिबारदेखि शुरु भएको छ । तिहारलाई यमपञ्चक पनि भनिन्छ । हिन्दु धर्मावलम्बीहरुले वडादशैं लगत्तै मनाउने अर्को ठूलो र महत्वपूर्ण चाड हो, तिहार अर्थात् यमपञ्चक । आज तिहारको पहिलो दिन काग तिहार हो । तिहार कार्तिक कृष्ण त्रयोदशीका दिनदेखि कार्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन मनाइने गरिन्छ । तर यसपाली कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ । आज भने काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रुपमा पूजा गरिन्छ । काग तिहारका दिन मात्रै कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । काग अर्थात् सन्देश प्रवाहक प्राणी, काग करायो भनें केही सन्देश या पाहुना आउने जनाउका रुपमा नेपाली समाजमा लिने चलन रहेको विज्ञहरु बताउँछन् ।
कागलाई विशेषगरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रुपमा लिइन्छ । धर्मशास्त्रका अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति अहिलेपनि रहेको छ । तर काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरुलाई विर्सिएर कागको पूजा गरिँदै आएको छ ।

काग एउटा बाठो पन्छी हो र यसल बालीनालीमा भएका दुर्गुणी किराफट्याङ्ग्राहरुलाई खाईदिएर अन्न उत्पादनमा र माशंजन्य फोहोरहरु खाईदिएर सरसफाईमा सहयोग गर्दछ । त्यसैगरी कागलाई काकगवेषण, काकन्याय तथा काकबलि आदि विविध शब्दले काग चरित्रको चर्चा गरिन्छ । आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ ।

कागतिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । कागतिहारकै दिन समुद्र मन्थनका बेला उत्पत्ति भएका आयुर्वेदका प्रवर्तक धन्वन्तरी ऋषिको सम्झनामा धन्वन्तरी दिवस पनि मनाइन्छ । आज यमदिप दान गर्नाले यमराजको यातनाबाट मुक्त हुने अर्को धार्मिक विश्वास रहेको छ । यमदिप दान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको छ । मृत्युका देवता यमराज आफ्नी बहिनी यमुनासँग धेरै समयदेखि भेट्न पाएका थिएनन्, यमुनालाई आफ्नो दाजुसँग भेट्ने धेरै इच्छा भएर विभिन्न माध्यमहरुमार्फत् दाजुलाई भेट्न आउन निम्तो पठाईन् । उनले यम समक्ष शुरुमा काग अनि कुकुर, गाई अनि अन्त्यमा मात्र आफैँ गएर दाजुलाई भेटेको प्रसगं छ, दाजुलाई भेटेपछि उनले दाजुलाई टीका, फूलमालाले पूजा गरी रङ्गीन टिका निधारमा लगाएकी थिइन् भन्ने जनविश्वास रहिआएको छ । तोरीको तेलले दाजु वरिपरि रेखा कोरेर मखमली फूलको र दुबोको माला लगाईदिई पूजा गर्दै भाईटीका लगाएकी थिइन् ।

त्यही क्रमलाई यमपञ्चकको पाँचौ दिनमा भाईटीका लगाएपछि तिहारको विधिवत अन्त्य हुन्छ । यसपालिको तिहार यही कार्तिक १० गते कुकुर तिहार र लक्ष्मी पूजा, ११ गते गोवद्र्धन पूजा र १२ गते भाइटीका रहेको छ ।

माटाको दियोमा आकर्षण
नेपालीहरुको दोश्रो ठूलो पर्व तिहार भित्रिएको छ । फूल र बत्तीको झिलिमिलीको पर्व भनिने तिहारमा दियोको प्रयोग महत्वपूर्ण हुन्छ । यहि कारण माटो तथा धातुका दियो, विद्युतीय बत्ती तथा अन्य बढी प्रकाश दिने बिभिन्न प्रकारका सामाग्रीको कारोबार समेत बढ्छ । केहि वर्षयता विद्युतीय बत्तीको अधिक उपोग हुने गरेको भए पनि माटोका दियो अर्थात् पाला प्रतिको मोह भने उच्चनै पाईन्छ ।

माटोका दियोको आकर्षणकै कारण तिहार आउनु भन्दा एक महिना अघि देखिनै यस्ता सामाग्री बनाउनेलाई समेत भ्याई नभ्याई हुन्छ । कतिले त सो भन्दा अघि देखिनै उत्पादन थाल्छन् । दमककै माटोका सामग्री उत्पादन तथा बिक्री गर्दै आएका घनश्याम पण्डितले विद्युतीय बत्तीको उपयोग बढे पनि माटोका दियो र पाला प्रतिको आकर्षण भने कायमै रहेको बताए । एक दिनमा ५० हजार रुपैयाँ सम्मका दियोय र अन्य माटोका सामान बिक्री गरेको बताएका उनले भने–‘हुन त, अहिले यस्ता समान बनाउने मान्छेनै थोरै छन् तर जति छन् सबैको व्यापार राम्रो छ ।’ तर तिहार लक्षित दियो, माला, मसला लगायतका केहि समाग्रीको व्यापार बढे पनि समग्रमा भने व्यावसायिक कारोबार सामान्य रहेको व्यवासायीहरुको भनाई छ । यसबेला भाइमसाला, दियो, सप्तरंगी टीका, माला, बिभिन्न प्रकारका बत्ती लगायतका तिहारमा चाहिने सामग्री खरिद गर्न उपभोक्ताहरुको घुँईचो देखिन्छ ।
तिहारका कारण यसबेला बजारमा चहल पहल पनि बढेको छ । सडक किनारामानै तिहार लक्षित बिभिन्न सामाग्रीको व्यापारमा उपभोक्ताको निक्कै भीड देखिन्छ । तर दैनिक उपभोग्य बस्तु, कपडा लगायतका सामाग्रीको व्यापार खासै नबढेको दमक–६ का व्यवासायी लोकनाथ सिग्देलको भनाई छ । तिहारमा पूजाका लागि चाहिने सामाग्रीको व्यापार बढे पनि अन्य सामाग्रीका लागि भने सिमावर्ती बजार जाने प्रचलनले स्थानीय बजार उक्सन नसकेको उनको अनुभव छ ।

Author

You may also like